जेसीज सप्ताहअन्तर्गत ज्येष्ठ नागरिकका लागि बाघचाल प्रतियोगिता, फुर्वा शेर्पा बने विजेता
सुनसरी, १८ कार्तिक । नेपाली मौलिक खेल बाघचालको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी आयोजित बाघचाल प्रतियोगिता सम्पन्न भएको छ ।
जेसीज सप्ताह–२०२६ अन्तर्गत चौथो दिनको कार्यक्रमका रूपमा तरहरा जेसीजले आयोजना गरेको प्रतियोगितामा आठ जना ज्येष्ठ नागरिकले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै फुर्वा शेर्पा विजेता बनेका छन् भने कुमार निरौला उपविजेता भएका छन् । विजेता शेर्पाले नगद २ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र, डायरी र बाघचाल बोर्ड प्राप्त गरे । त्यस्तै, उपविजेता निरौलाले नगद १ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र, डायरी र बाघचाल बोर्ड प्राप्त गरेका छन् ।
नेपाली समाजमा पुस्तौँदेखि प्रचलनमा रहेको बाघचाल खेलको मौलिकता जोगाउने र ज्येष्ठ नागरिकलाई सामाजिक गतिविधिमा सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको तरहरा जेसीजले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा ज्येष्ठ नागरिक समाज वडा नम्बर–२० का अध्यक्ष दिनेशचन्द्र गिरी सहभागी थिए । उनले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई समाजसँग जोड्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने धारणा राखे ।
तरहरा जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी मिलन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताको संयोजन जेसी सुरज श्रेष्ठले गरेका थिए । सप्ताहव्यापी कार्यक्रमको मूल संयोजन जेसी लीलामणि खड्काले गरिरहेका छन् ।
कार्यक्रम सञ्चालन तरहरा जेसीजका महासचिव मदन बस्नेतले गरेका थिए ।
आधुनिक प्रविधि र मनोरञ्जनका नयाँ माध्यमको प्रभाव बढ्दै गएको अवस्थामा परम्परागत खेलहरूको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा बाघचालजस्ता मौलिक खेललाई प्रतियोगिताका माध्यमबाट नयाँ पुस्तासम्म परिचित गराउनुका साथै ज्येष्ठ नागरिकको सक्रियता र सामाजिक सहभागिता बढाउन सकिने आयोजकको विश्वास छ ।
प्रतियोगिताले ज्येष्ठ नागरिकबीच आपसी भेटघाट, अनुभव आदानप्रदान र सद्भाव अभिवृद्धि गर्न सहयोग पुर्याएको आयोजकले जनाएको छ । साथै, यस्ता गतिविधिले पुस्ताबीचको सम्बन्ध सुदृढ बनाउनुका साथै नेपाली मौलिक खेल तथा संस्कृतिको संरक्षणमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।
जेसीज सप्ताह–२०२६ अन्तर्गत विभिन्न सामाजिक तथा रचनात्मक गतिविधि सञ्चालन भइरहेका छन् । ज्येष्ठ नागरिकलाई सम्मान र सामाजिक गतिविधिमा सहभागी गराउने उद्देश्यले आयोजित बाघचाल प्रतियोगितालाई सप्ताहको विशेष कार्यक्रमका रूपमा लिइएको छ ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





