विद्यापति पुरस्कार कोषद्वारा दुई वर्षका उत्कृष्ट स्रष्टाहरू सम्मानित हुने

जनकपुरधाम, १९ चैत । विद्यापति पुरस्कार कोषले वर्ष २०८० र २०८१ का लागि विभिन्न श्रेणीका विद्यापति पुरस्कारको घोषणा गरेको छ । विविध कारणबस २०८० सालको पुरस्कार वितरण हुन नसकेको हुँदा यस वर्ष २०८० र २०८१ दुबै वर्षको पुरस्कार प्रदान गरिने निर्णय गरिएको छ ।
कोषले चैत ६ गते सार्वजनिक सूचना जारी गरी विभिन्न विधाका लागि सिफारिस आमन्त्रण गरेको थियो । सोही अनुरूप चैत १५ गते पुरस्कार चयन समितिको निर्णय तथा चैत १७ गते नेपाल विद्यापति पुरस्कार कोष सञ्चालक परिषदको अनुमोदनपछि स्रष्टाहरूको घोषणा गरिएको हो ।
नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार २०८० को लागि मैथिली विकास कोष र २०८१ को लागि प्राध्यापक भोला झा छनोट भएका छन् । नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार २०८० को सम्मान राम कुमार मण्डललाई र २०८१ को लागि दिपा मिथिला आर्ट ग्यालरी लाई प्रदान गरिनेछ ।
अनुसन्धान विधामा नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार २०८० विनोद कुमार यादवलाई तथा २०८१ माला कुमारी कर्णलाई दिइनेछ । त्यस्तै, नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार २०८० को लागि श्याम सुन्दर शशी र २०८१ को लागि काशी कान्त झा चयन भएका छन् ।
अनुवाद विधामा नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार २०८० विद्याधर झालाई र २०८१ श्याम सुन्दर यादवलाई प्रदान गरिने निर्णय गरिएको छ ।

नेपाल विद्यापति पुरस्कार कोषका अध्यक्ष रामबाबु चौधरी तथा सदस्य सचिव ध्रुव कुमार मण्डलले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पुरस्कार घोषणा गरेका हुन् । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अनुसन्धान तथा अनुवादका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका विद्वानहरूलाई सम्मान गर्ने उद्देश्यले नेपाल सरकारद्वारा वि.सं. २०६८ सालमा विद्यापति पुरस्कार कोष स्थापना गरिएको हो ।
यस वर्ष दुई वर्षका पुरस्कार वितरण गर्न लागिएकाले यो अवसरलाई मैथिली भाषा, साहित्य तथा संस्कृतिको सम्मान र प्रवद्र्धनका रूपमा हेरिएको छ । निकट भविष्यमा एक भव्य समारोहबीच स्रष्टाहरूलाई सम्मान गरिने जानकारी कोषले गराएको छ ।


