जनकपुरधाम, ६ मङ्सिर । नेपालको चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले संविधानमा उल्लेखित राष्ट्रगानको अपमान गरेको आरोप लगाउँदै नेकपा एमाले निकटको राष्ट्रिय युवा संघ धनुषाले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको छ ।

युवा संघका धनुषा जिल्ला अध्यक्ष रोशन यादवले जिल्ला प्रहरी कार्यालयमा प्रसाईमाथि कारवाही गर्न उजुरी दर्ता गराएको जनाएका छन् ।

गत कात्तिक महिनाको २८ गते जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १४ मा दुर्गा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल अधिराज्यको संविधान २०७२ मा उल्लेखित राष्ट्र गानको अपमान गर्दै संविधानले विस्थापित गरिसकेको राष्ट्र गानलाई बजाएको आरोप लगाइएको छ । प्रसाईले ‘नेपाल केन्द्रित राष्ट्रवादद्वारा हिन्दू राष्ट्र स्थापना गरौं र राजा ल्याउ देश बचाउँ ’भन्ने नारा समेत लगाउँदै राष्ट्र गानको अपमान गरेकाले पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न युवा संघ धनुषाका अध्यक्ष यादवले माग गरेका छन् । युवा संघले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको निवेदन दर्ता भने भएको छैन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले रोशन यादवले उजुरी दिएको बताउँदै त्यसमाथिको अनुसन्धान लगायतका प्रक्रियाहरु बाँकी रहेको बताए । एसपी शर्माका अनुसार हाल निवेदन दर्ता भएको छैन् । प्रसाईविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गराएको भन्दै समाजिक सञ्जालमा युवा संघका नेताहरुले पोष्ट गरेका छन् ।

धनुषा अध्यक्ष यादवले सप्रमाण दिएको निवेदन दर्ता भएको दाबी गरेका छन् । दुर्गा प्रसाईले झापा जिल्लामा गरेको बृहत्त भेलामा पनि राजाको गुणगान गरिएको पुरानो राष्ट्रगान बजाएका थिए । त्यसको पनि चौतर्फी आलोचना भएको थियो । तर प्रशासनले कुनै चासो देखाएनन् । प्रसाईको गतिविधिबारे शीर्ष तहका नेताहरुले सार्वजनिक रुपमा कमै टिप्पणी गरिरहेका छन् ।