सुनसरी, १७ कार्तिक । तरहरा जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित निःशुल्क दन्त परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन तरहरा जेसीजको आयोजना तथा तरहरा रेडक्रसको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

तरहरा जेसीज वर्ष २०२६ का अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ दन्त चिकित्सक डा. मेघा केसी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा ६० जनाले दन्त परीक्षण सेवा लिएका छन् भने रक्तदान कार्यक्रमबाट ५५ पोका रगत संकलन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा तरहरा रेडक्रसका अध्यक्ष उमेश राई, सप्ताह मूल संयोजक लीलामणि खड्का (सरोज), कार्यक्रम संयोजक योगेश गिरी तथा तरहरा जेसीजका महासचिव मदन बस्नेतलगायत जेसीजकर्मी, रेडक्रसकर्मी र स्थानीयवासीको सहभागिता रहेको थियो ।

स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको तरहरा जेसीजका उपाध्यक्ष जेसी विदुरमणी नेपालले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व र समुदाय केन्द्रित विभिन्न गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ ।