सिरहा, १७ कार्तिक । चाडपर्व, विवाह तथा धार्मिक र सांस्कृतिक कार्यक्रममा सयपत्री फूलको माग बढ्दै गएपछि सिरहाका किसान व्यवसायिक फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

जिल्लाका विभिन्न स्थानमा सयपत्री फूलको खेती विस्तार भएसँगै यसले किसानको आम्दानी र रोजगारी सिर्जनामा समेत योगदान पुर्याउन थालेको छ ।

तिहार र छठ पर्वलाई लक्षित गरी जिल्लाको लहान, धनगढीमाई, गोलबजार र मिर्चैयामा व्यवसायिक रूपमा सयपत्री फूलको खेती भइरहेको छ ।

नर्सरी व्यवसायी सङ्घ सिरहाका अध्यक्ष सुरेश महतोका अनुसार जिल्लामा करिब तीन दर्जन नर्सरी व्यवसायी फूलखेतीमा संलग्न छन् । उनीहरूको उत्पादनबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ ।

कम लगानीमा राम्रो आम्दानी गर्न सकिने र उत्पादित फूल बिक्रीका लागि बजारको समस्या नरहेकाले यस खेतीप्रति किसानको आकर्षण बढ्दै गएको महतोको भनाइ छ ।

जिल्लामा करिब २० बिघा क्षेत्रफलमा सयपत्री फूलको खेती भइरहेको छ । कपिलदेव नर्सरीका सञ्चालक रामकुमार चौधरीका अनुसार एक कठ्ठामा करिब १० हजार रुपैयाँ लगानी गर्दा ४० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । थोरै जग्गा भएका किसानले समेत तरकारी खेतीसँगै केही कठ्ठामा फूलखेती गरेर अतिरिक्त आम्दानी गर्न थालेका छन् ।

सिरहामा नर्सरी व्यवसायको सुरुवात र विस्तारमा धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित श्रीदेव नर्सरीका संस्थापक स्वर्गीय श्रीदेव चौधरीको महत्वपूर्ण योगदान रहेको व्यवसायीहरू बताउँछन् । उनकै प्रेरणाबाट जिल्लामा नर्सरी तथा फूलखेती विस्तार भएको भतिजा रामकुमार चौधरीको भनाइ छ ।

यसैबीच, तिहारलाई लक्षित गरी फूल टिप्ने तयारी भइरहेका बेला अर्नभ चक्रवातका कारण भएको वर्षाले सयपत्रीका बोट ढलाउँदा किसानले क्षति व्यहोर्नुपरेको छ ।

श्रीदेव नर्सरीकी सञ्चालिका पुनमकुमारी चौधरी बछारका अनुसार परिवारले परम्परागत फलफूल नर्सरी व्यवसायलाई विस्तार गर्दै अहिले सयपत्री फूल र ड्रागन फ्रुटको खेतीसमेत सुरु गरेको छ ।

व्यवसायिक खेती विस्तार भइरहे पनि किसानलाई आवश्यक प्राविधिक ज्ञान, माटो परीक्षण, तालिम तथा कृषि परामर्शको व्यवस्था गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

नर्सरी व्यवसायी रामपरीक्षण महतोले स्थानीय तहले नर्सरी, फलफूल र फूलखेती प्रवद्र्धनका लागि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन सके ग्रामीण क्षेत्रमा थप रोजगारी सिर्जना हुने बताए ।

उनका अनुसार सिराहाका नर्सरीमा दुई सयभन्दा बढी कृषि मजदुरले वर्षभरि रोजगारी पाएका छन् । जिल्लामा उत्पादित फलफूल काठमाडौं, जनकपुर, पोखरा र राजविराजलगायतका बजारमा आपूर्ति हुँदै आएको छ । स्वदेशमै सयपत्री फूलको उत्पादन बढेसँगै भारतीय बजारबाट हुने फूलको आयातसमेत बन्द भएको व्यवसायीको दाबी छ ।

सयपत्री फूलखेतीले एकातिर स्थानीय किसानको आम्दानी बढाएको छ भने अर्कोतर्फ स्वदेशी उत्पादनमार्फत बजारको माग धान्न र कृषि क्षेत्रमा रोजगारी विस्तार गर्नसमेत सहयोग पुर्याउँदै आएको छ ।