जनकपुरधाम, १४ कार्तिक । तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाएकै आधारमा सञ्चारकर्मीमाथि गरिएको गिरफ्तारी तथा प्रशासनिक कारबाहीप्रति आपत्ति जनाएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीमाथि हुने यस्ता कारबाही लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्थाविपरीत रहेको बताएका छन् ।

विज्ञप्तिमा संवैधानिक निकाय तथा राज्यका संस्थाहरूको विश्वसनीयता जनताले प्रश्न नगरी विश्वास गर्नुपर्ने विषय नभई ती निकायले आफ्नो कामकारबाही पारदर्शी, उत्तरदायी र तथ्यमा आधारित बनाएर स्थापित गर्नुपर्ने उल्लेख गरिएको छ ।

सार्वजनिक सरोकारका विषयमा प्रश्न उठ्दा त्यसको जवाफ दिनुको सट्टा प्रश्नकर्तालाई दबाउने, त्रसित बनाउने र डर देखाएर मौन गराउने प्रवृत्ति लोकतान्त्रिक संस्कृतिको विपरीत रहेको तमलोपाको ठहर छ ।

यस्तो प्रवृत्ति अधिनायकवादी सोच र आचरणको परिचायक भएको पार्टीले जनाएको छ ।

सञ्चारकर्मीहरूले सार्वजनिक सवाल उठाएकै कारण गिरफ्तारी तथा प्रशासनिक कारबाहीको सामना गर्नुपर्ने अवस्था लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

तमलोपाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेपको घोर विरोध गर्दै यस्ता गतिविधिमा तत्काल पूर्णविराम लगाउन सम्बन्धित निकायसँग माग गरेको छ ।