जनकपुरधाम, १७ कार्तिक । धनुषाको मिथिला नगरपालिका–९ बेंगाडावरमा आगामी कार्तिक २४ गतेदेखि मिथिला महोत्सव आयोजना हुने भएको छ ।

बेंगाडावर युवा क्लबको आयोजनामा कार्तिक २४ गतेदेखि मंसिर ६ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

स्थानीय कला, संस्कृति, व्यापार तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न मनोरञ्जनात्मक तथा व्यवसायिक गतिविधि सञ्चालन गरिनेछ ।

महोत्सवमा चर्चित गायिका रचना रिमाल, एलिना चौहानसहित गंगु क्षेत्री र प्रीति पासवानलगायतका कलाकारले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

त्यसैगरी, महोत्सवमा रोटेटिङ लक्की ड्र, विभिन्न परिकारका फुड स्टल तथा अन्य मनोरञ्जनात्मक गतिविधिसमेत आकर्षणका रूपमा रहनेछन् । स्थानीय उत्पादन तथा व्यवसायलाई बजारसँग जोड्ने उद्देश्यले विभिन्न व्यापारिक स्टलसमेत राखिने आयोजकले जनाएको छ ।

बेंगाडावर युवा क्लबका अध्यक्ष राजु लामाका अनुसार महोत्सवलाई स्थानीयस्तरको सांस्कृतिक तथा मनोरञ्जनात्मक उत्सवका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवले स्थानीय प्रतिभा, कला, संस्कृति तथा व्यवसायको प्रवर्द्धनमा सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे ।

महोत्सवमार्फत स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने आयोजकको विश्वास छ ।