जनकपुरधाम, १७ कार्तिक । महाकवि विद्यापतिको स्मृतिमा आगामी मंसिर ६ गते आयोजना हुने विद्यापति स्मृति पर्व–२०८३ लाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न कौशल किशोर मिश्रको अध्यक्षतामा कार्यक्रम समिति गठन गरिएको छ ।

विद्यापति स्मृति पर्वको तयारीका लागि बसेको बैठकले मिश्रको अध्यक्षतामा नौ सदस्यीय कार्यक्रम समिति गठन गर्ने निर्णय गरेको हो ।

गठित समितिको उपाध्यक्षमा उग्रनाथ चौधरी, सचिवमा राजु पाठक र कोषाध्यक्षमा उज्ज्वल महतो चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा प्रिया कर्ण, अविनाश कुमार चौधरी, सोनु झा, त्रिदेव मिश्र र नवीन सिंह रहेका छन् ।

त्यस्तै, पर्वको सफल आयोजनाका लागि सल्लाहकार समिति पनि चयन गरिएको छ । सल्लाहकार समितिमा चन्द्रमोहन चौधरी, वागीश झा, दीपक झा र प्रसन्न झा रहेका छन् ।

मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको विद्यापति स्मृति पर्वलाई यस वर्ष विशेष कार्यक्रमका साथ मनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।

गठित कार्यक्रम समितिले पर्वको तयारी, व्यवस्थापन तथा विभिन्न कार्यक्रमको रूपरेखा तयार पार्ने जिम्मेवारी पाएको छ ।