जनकपुरधाम, १७ कार्तिक । नेपाल बार एशोसिएशन जनकपुरको नयाँ कार्यसमिति चयनका लागि आगामी मंसिर २० गते निर्वाचन हुने भएको छ ।

नेपाल बार एशोसिएशन जनकपुरले मंसिर २० गते आइतबारका दिन निर्वाचन गर्ने निर्णय गरेको हो ।

एशोसिएशनको कार्तिक १३ गते बसेको बैठकको निर्णयअनुसार निर्वाचनको मिति तय गरिएको अध्यक्ष अधिवक्ता बिमल कुमार मिश्रले जारी गरेको सूचनामा उल्लेख छ ।

निर्वाचनमा सहभागी भई नयाँ कार्यसमिति चयन प्रक्रियालाई सफल बनाउन एशोसिएशनले सम्पूर्ण सदस्य कानून व्यवसायीहरूलाई आग्रह गरेको छ ।

निर्वाचन सम्पन्न गराउन अधिवक्ता लोचन साहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

समितिको प्रमुख निर्वाचन अधिकृतमा अधिवक्ता लोचन साह रहेका छन् भने अधिवक्ता राकेश कुमार साह र अधिवक्ता रविशेखर ठाकुर सदस्य तथा निर्वाचन अधिकृतको जिम्मेवारीमा रहेका छन् ।