मधेशमा नयाँ सरकार गठनको कसरत तीव
जनकपुरधाम, १३ कार्तिक । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच राजनीतिक छलफल तीव्र बनेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सत्ता समीकरण निर्माणको कसरतमा जुटेका हुन् ।
एमालेले गत असोज २५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मधेश प्रदेशको सत्ता समीकरणमा फेरबदल आएको हो । त्यसपछि एमाले, जसपा नेपाल र जनमत पार्टीका नेताहरूबीच नयाँ सरकार गठनका विषयमा संवाद अघि बढेको छ ।
जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवले तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको जानकारी दिए । यद्यपि, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा अहिलेसम्म ठोस सहमति जुट्न सकेको छैन ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पनि जसपा नेपाल र जनमत पार्टीका नेताहरूसँग नयाँ सरकार गठनबारे संवाद भइरहेको बताए । चाडपर्व सकिएपछि छलफललाई थप अघि बढाएर निष्कर्षमा पुर्याउने उनको भनाइ छ ।
नयाँ गठबन्धन निर्माणको प्रयाससँगै मुख्यमन्त्रीको दाबी पनि पेचिलो बनेको छ । तीनवटै दलले सरकारको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् । प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपा नेपालले स्वाभाविक रूपमा सरकारको नेतृत्व आफूले पाउनुपर्ने तर्क गर्दै आएको छ ।
जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार तीनवटै दलका अध्यक्षबीच केन्द्रबाटै प्रदेश सरकारको नेतृत्वबारे सहमति जुटाउने समझदारी भएको छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा एमालेका २३, जसपा नेपालका २७ र जनमत पार्टीका १२ सदस्य छन् । तीन दलका सदस्य जोड्दा ६२ पुग्छ । सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी हो ।
त्यस्तै, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिष्ट पार्टीका १५ तथा सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।
तीन दलबीच सहमति जुटेमा वर्तमान सरकारको विकल्पमा नयाँ गठबन्धन सरकार गठनको बाटो खुल्नेछ । तर, सत्ता साझेदारी र मुख्यमन्त्रीको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन बाँकी रहेकाले मधेश प्रदेशको आगामी राजनीतिक दिशा नेताहरूबीचको छलफलले निर्धारण गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





