काठमाडौँ, १४ भदौ । अर्थमन्त्री प्रकाशशरण महतले जथाभावी विदेश पढ्न जान दिने विषयमा राष्ट्रिय रुपमा छलफल आवश्यक रहेको बताएका छन् ।

१२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता युवाहरुमा रहेको र यसलाई परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले कम्तीमा ५० प्रतिशत छात्रवृत्ति पाउने विद्यार्थीलाई मात्रै विदेश पढ्न जान दिनुपर्ने बताए । नेपालबाट विदेशमा अध्ययनमा गएका विद्यार्थीको पढाइ पनि राम्रो नभएको उनले उल्लेख गरे ।

पढाइ पनि पूरा गर्न नसक्ने, राम्रो अवसर पनि नपाउने अवस्था नेपाली विद्यार्थीको रहेको स्पष्ट पार्दै महतले भने, ‘न कलेज पूरा गर्न सक्छन् । न ठूलो अवसर पाएका छन् । त्यस्तो स्थितिमा हामीले कक्षा १२ बाट नै ५० देखि १०० प्रतिशत छात्रवृत्ति नभई नजाने विषयमा राष्ट्रिय रुपमा छलफल गर्न आवश्यक छ ।’

नेपालमा इन्जिनियरिङ पढ्नेहरुमा छात्रवृत्ति पाएर अन्तर्राष्ट्रिय राम्रो क्याम्पसमा जानसक्ने क्षमता रहेको उनले बताए । यद्यपि, कक्षा १२ बाट नै वार्षिक ४० हजार विद्यार्थी बाहिर जाने गरेको उनको भनाइ छ ।

सबैको मानसिकता बाहिर जानै पर्छ भन्ने रहेको उल्लेख गर्दै उनले भने, ‘अब विदेश नजानु भनेको इज्जत नै जानेजस्तो भइसक्यो । यो मानसिकता परिवर्तन गर्न आवश्यक छ ।’