जनकपुरधाम, १९ कार्तिक । जनकपुरधामबाट भारतको अयोध्यासम्म रेल सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ । यसैक्रममा प्रस्तावित रेल सेवाको प्रारम्भिक परीक्षणका लागि बिहीबार १७ वटा बोगीसहितको भारतीय रेल जनकपुरधाम आइपुगेको हो ।

भारतीय रेल्वेका पदाधिकारीसहित डब्ल्यूडीपी–४ डी ४०३७० नम्बरको रेल अयोध्याबाट जनकपुरधामस्थित कुर्था रेल्वे स्टेसन ल्याइएको हो । प्रस्तावित रेल सेवा सञ्चालनको पूर्वतयारीस्वरूप रेल ल्याएर प्रारम्भिक परीक्षण गरिएको नेपाल रेल्वेले जनाएको छ ।

नेपाल रेल्वेका प्रमुख परिवेश पराजुलीका अनुसार जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालन गर्ने योजनाअनुसार पहिलो चरणमा १७ बोगीसहितको रेल ल्याइएको हो । यद्यपि, सेवा सञ्चालनको मिति र अन्य व्यवस्थापनका विषयमा नेपाल तथा भारतबीच औपचारिक सम्झौता हुन बाँकी रहेको उनले बताए ।

सम्झौतापछि रेल सेवाको औपचारिक उद्घाटन नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने विषयमा छलफल भइरहेको पनि पराजुलीले जानकारी दिए । तर, यसबारे दुवै देशबीच औपचारिक बैठक र निर्णय हुन बाँकी छ ।

प्रस्तावित रेल सेवाअन्तर्गत नेपालतर्फ जनकपुरधाम र जयनगरमा स्टेसन रहने प्रारम्भिक योजना छ । भारततर्फका स्टेसन तथा रेलको रुट भने अझै टुङ्गो लाग्न सकेको छैन ।

रेल सेवा सञ्चालनका लागि जनकपुरधाम रेल्वे स्टेसनको प्लेटफर्म स्तरोन्नति गर्ने कामसमेत भइरहेको छ । यसका अतिरिक्त सीमासुरक्षा, यात्रु व्यवस्थापन तथा अन्य प्राविधिक विषयमा पनि दुवै देशबीच सहमति जुटाउनुपर्नेछ ।

प्रारम्भिक छलफलअनुसार सातामा एक दिन जनकपुरधामबाट अयोध्यासम्म रेल सञ्चालन गर्ने र अर्को दिन फर्काउने योजना रहेको प्रमुख पराजुलीले बताए ।

जनकपुरधाम र अयोध्या दुवै हिन्दू धर्मावलम्बीका महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थल हुन् । जनकपुरधामस्थित जानकी मन्दिर र अयोध्यास्थित राममन्दिरलाई सीधा रेलमार्गबाट जोड्ने प्रस्तावले धार्मिक पर्यटन प्रवद्र्धनसँगै नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।

रामायण सर्किटसँग जोडिएका यी दुई धार्मिक सहरबीच रेल सम्पर्क स्थापित भएमा श्रद्धालु तथा पर्यटकलाई आवतजावतमा सहज हुने विश्वास गरिएको छ ।

यद्यपि, रेल जनकपुरधाम आइपुगेसँगै सेवा सञ्चालनको तयारीले गति लिए पनि सञ्चालन मिति, रुट, भाडादर, स्टेसन, सुरक्षा व्यवस्था र औपचारिक सम्झौताको टुङ्गो लागेपछि मात्रै सेवाको वास्तविक स्वरूप स्पष्ट हुनेछ ।