भन्सार छली गरी ल्याइएको ४४ क्यारेट बढी माछासहित ट्रक नियन्त्रणमा
पर्सा, १९ कार्तिक । पर्सा प्रहरीले भन्सार प्रज्ञापनपत्रमा उल्लेख गरिएको परिमाणभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको हो ।
प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको मालवाहक ट्रक जाँच गर्ने क्रममा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख भए पनि ट्रकमा थप ४४ क्यारेट माछा लोड गरिएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रकसहित चालक वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय रविकुमार साहलाई समेत नियन्त्रणमा लिएको छ ।
बरामद माछाको कुल मूल्य ३२ लाख ११ हजार ३९२ रुपैयाँ मूल्यांकन गरिएको प्रहरीले जनाएको छ । बरामद माछा, ट्रक र चालकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




