जनकपुरधाम, १९ कार्तिक । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायम राखेको छ । बिहीबार भएको खेलमा लुम्बिनीले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो । यससँगै जनकपुरले प्रतियोगितामा पाँच खेल खेल्दा तेस्रो हार बेहोरेको छ ।

लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको लुम्बिनीले भने तीन खेलमा जित र वर्षाका कारण रद्द भएको एक खेलबाट अंक बाँड्दै चार खेलमा ७ अंक जोडेको छ । जितसँगै लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा कायम रहँदै प्लेअफ सम्भावना बलियो बनाएको छ ।

जनकपुरको शुरुवात भने निकै कमजोर रह्यो । ६५ रन जोड्दा पाँच विकेट गुमाइसकेको जनकपुरलाई कप्तान हर्मीत सिंह र आदित्य महताले सम्हाल्ने प्रयास गरेका थिए । आठौँ विकेटका लागि यी दुईले ४३ रनको साझेदारी गरे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् ।

जनकपुरका लागि कप्तान हर्मीत सिंहले २० बलमा तीन छक्कासहित सर्वाधिक ३३ रन बनाए । आदित्य महता २३ बलमा चार चौकासहित ३० रनमा अविजित रहे । त्यस्तै, सेफ हसनले २८ र तृतराज दासले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि डार्सी सर्टले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २३ रन खर्चेर तीन विकेट लिए । तिलक भण्डारीले दुई तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बलमा चार चौका र एक छक्का प्रहार गरे । निरोशन डिकवेलाले २७ बलमा दुई चौका र एक छक्कासहित २७ रन जोडे ।

त्यस्तै, आसिफ शेख र दिलीप नाथले समान २१ रन तथा शामिन हुसेनले १३ रन बनाए । रुबेन ट्रम्पलम्यानले आक्रामक ब्याटिङ गर्दै आठ बलमा दुई छक्कासहित १५ रन जोडे । ओपनर डार्सी सर्ट भने खेलको पहिलो बलमै आउट भएका थिए ।

जनकपुरका लागि विशाल सुशलिङ र राहुल यादवले समान दुई–दुई विकेट लिए । कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट हात पारे ।

यो हारसँगै जनकपुरको प्लेअफ यात्रा कठिन बनेको छ । पाँच खेलबाट तीन हार बेहोरेको जनकपुरले प्लेअफमा स्थान सुरक्षित गर्न बाँकी दुवै खेल जित्नुपर्ने दबाबमा परेको छ ।

उता, लुम्बिनीले भने लगातार राम्रो प्रदर्शन गर्दै उपाधि रक्षाको अभियानलाई थप मजबुत बनाएको छ ।