घुस प्रकरणमा सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दोषी ठहर
महोत्तरी, १९ कार्तिक । महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतले बुधबार यादवलाई घुस लिएको कसुरमा दोषी ठहर गरेको हो । उनी एक उपभोक्ता समिति अध्यक्षसँग ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ परेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई महोत्तरीको औरही सडकबाट घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
गोलबजार नगरपालिका–१२, सिमरा घर भएका यादव कल्याणपुर नगरपालिकाबाट सरुवा भई सोनमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । सोनमा गाउँपालिकामा जिम्मेवारी सम्हालेको केही दिनमै उनी घुस रकमसहित अख्तियारको फन्दामा परेका थिए ।
विशेष अदालतबाट दोषी ठहर भएसँगै यादवमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढ्नेछ । यद्यपि, अदालतले उनलाई सुनाएको सजाय तथा जरिवानाबारे विवरण प्राप्त भएको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




