मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

मनाङ, ५ मंसिर । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।
एमालेका पोल्देन छोपाङ गुरुङलाई १९५ मतान्तरले पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन् । गुरुङले २ हजार २५ मत पाए भने पोल्देनले १ हजार ८३० मत ल्याएका छन् ।
२०७४ सालको चुनावमा छोपाङले टेकबहादुर पराजित गरेका हुन् । ६८ बर्षीय गुरुङ २०३६ सालमै नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका थिए ।
२०७० सालको संविधानसभा सदस्य निर्वाचित उनी सुशील कोइराला नेतृत्वको सरकारमा श्रम तथा रोजगार मन्त्री बने । राप्रपाबाट एमाले प्रवेश गरेका छोपाङले २०७४ मा पहिलो पटक मनाङमा एमालेको जित दर्ता गराएका थिए ।
मनाङ ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भइसकेका छन् । सोमबार साँझ आएको अन्तिम मतपरिणाम अनुसार गुरुङ ३३० मतान्तरले विजयी भएका हुन् ।
मुनिन्द्रले १ हजार २५५ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्दी नेकपा एमालेका राजन गुरुङले ९२५ मात्र मत पाए । २०७४ सालको निर्वाचनमा पनि यो क्षेत्र नेपाली कांग्रेसले नै जितेको थियो ।
प्रदेश सभा (ख) मा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) सर्वसम्मत निर्वाचित भइसकेका छन् । अघिल्लो पटक पनि एमालेको समर्थनमा मनाङेले जितेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


