जनकपुरधाम, १५ चैत । जनकपुर विमानस्थलमा यात्रुहरूलाई ५ देखि १० मिनेटसम्मको पिक अप र ड्रपको लागि कुनै शुल्क नलाग्ने संयुक्त निर्णय कागजमै सिमित भएको पाइएको छ ।

विमानस्थलको पार्किङ्ग स्थलमा दुई मिनेटका लागि पनि सवारी साधन राख्दा यात्रुहरूले अनिवार्य रूपमा शुल्क तिर्नुपर्ने बाध्यता कायमै रहेको छ ।

गत फागुन ७ गते बसेको सरोकारवालाहरूको संयुक्त बैठकमा गरिएको निर्णयको ठेकेदारले खुलमखुल्ला अवज्ञा गर्दै यात्रुहरूसँग जर्बजस्ती शुल्क असुल्ने गरेको पाइएको छ भने विमानस्थल प्रशासनको मौन समर्थनले स्थिति अझ जटिल बनेको छ ।

शुक्रबार दिउँसो करिब १२ बजे विमानस्थल पुगेका एक यात्रुले पार्किङ्ग स्थलमा २ मिनेटको लागि आफ्नो स्कुटर पार्क गर्दा ठेकेदार कृष्णा नामका व्यक्तिले जर्बजस्ती शुल्क असुलेका थिए । यस सम्बन्धमा विमानस्थल प्रमुख तेजबहादुर बुढ थापासँग बुझ्न जाँदा उनले पार्किङ्ग शुल्क बारे सरोकारवालाहरूबिच त्यस्तो कुनै निर्णय नभएको बताए ।

उनले भने, ‘विमानस्थलमा ५ देखि १० मिनटसम्मको पिक अप र ड्रपको लागि यात्रुहरूलाई कुनै शुल्क नलाग्ने निर्णयलाई हामी मान्दैनौं । पार्किङ्ग स्थलमा दुई मिनेटका लागि पनि तपाईंले आफ्नो सवारी साधन राख्नुहुन्छ भने पार्किङ्ग शुल्क तिर्नै पर्छ । विमानस्थलको अगाडि आएर तपाईं आफ्नो मान्छेलाई झारेर सुटुक्क गइहाल्नुस्, त्यसको कुनै शुल्क लाग्दैन ।’

यस सम्बन्धमा धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले यसबारे आफूलाई कुनै जानकारी नरहेकोले विस्तृत कुरा प्रमुख जिल्ला अधिकारीसँग सोध्न भन्दै पन्छिए । यद्यपि, फागुन ७ गतेको संयुक्त छलफलमा उनी आफैं सहभागी थिए । सोही बैठकमा यो निःशुल्क सेवाको निर्णय गरिएको थियो ।

बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी लगायतका सरोकारवाला व्यक्तिहरूको संयुक्त छलफल र सहमतिमा जनकपुर विमानस्थलमा ५ देखि १० मिनटसम्मको पिक अप र ड्रपको लागि यात्रुहरूलाई कुनै शुल्क नलाग्ने निर्णय गरिएको थियो ।

केही मिनेटका लागि विमानस्थल प्रवेश गर्दा समेत सवारी साधनलाई अनावश्यक शुल्क तिर्न बाध्य पारिने सिस्टम अहिले पनि जारी जारी छ ।

विमानस्थलमा यात्रुहरूलाई ठेकदारको मनपरी शुल्क असुलिप्रति स्थानीय समाजसेवी र नागरिक समाजले आक्रोश व्यक्त गरेका छन् । नागरिक अगुवा दिपु ठाकुरले भने, ‘विमानस्थलमा सवारी साधनलाई अनावश्यक रूपमा शुल्क तिर्न बाध्य पार्ने व्यवस्था यात्रुहरूका लागि अन्यायपूर्ण थियो । त्यसैले हामीले सरोकारवालाहरुसँग आग्रह गरेर यस्तो निर्णय गर्न लगाएका थियौं । तर, निर्णय कार्यान्वयन नगर्नेतर्फ सबैको मिलेमतो रहेको देखिन्छ ।’

यात्रुहरूलाई सुलभ सेवा दिनुपर्ने जनकपुर विमानस्थलमा ठेकेदारको मनपरी र प्रशासनको मौनताले सेवाग्राहीहरूलाई असुविधामा पारिरहेको छ । निःशुल्क सेवा दिने निर्णय भए पनि व्यवहारमा त्यसको कुनै कार्यान्वयन देखिएको छैन । यसले प्रशासनको असक्षमता र लापरवाहीलाई स्पष्ट पार्दछ ।

यो पनि पढनुहोस् :

जनकपुर विमानस्थलमा अब ५–१० मिनटको पिक र ड्रपको लागि कुनै शुल्क नलाग्ने