जनकपुरधाम, ७ फागुन । जनकपुर विमानस्थलमा अबदेखि ५ देखि १० मिनटसम्मको पिक अप र ड्रपको लागि यात्रुहरूलाई कुनै शुल्क नलाग्ने निर्णय गरिएको छ ।

यस निर्णयसँगै यात्रुहरूलाई विमानस्थलमा झार्न वा लिन आउने सवारी साधनलाई पार्किङ शुल्क तिर्नु पर्ने पुरानो नियममा परिमार्जन गरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी लगायतका सरोकारवाला व्यक्तिहरूको संयुक्त छलफल र सहमतिमा यो निर्णय गरिएको हो ।

यसअघि जनकपुर विमानस्थलमा यात्रुहरूलाई केवल चढाउन वा ओर्लाउन जान्ने सवारी साधनलाई पार्किङमा नरोकीकन पनि शुल्क तिर्नु पर्ने बाध्यता रहेको थियो । केही मिनेटको लागि विमानस्थल प्रवेश गर्दा समेत सवारी साधनलाई अनावश्यक शुल्क तिर्न बाध्य पारिने प्रचलन थियो । यसले यात्रुहरूलाई असहज बनाएको थियो ।

समाजसेवी र नागरिक समाजका अगुवा दिपु ठाकुरले यस निर्णयको स्वागत गर्दै भने, ‘विमानस्थलमा सवारी साधनलाई अनावश्यक रूपमा शुल्क तिर्न बाध्य पार्ने व्यवस्था यात्रुहरूका लागि अन्यायपूर्ण थियो । यो निर्णयले जनकपुर विमानस्थलको यात्रु अनुभवलाई निकै सुधार्ने छ । यसले यात्रुलाई थप सहज र सुविधाजनक बनाउने छ ।’

सरोकारवालाहरूको संयुक्त पहलबाट गरिएको यस निर्णयले यात्रुहरूको यात्रा प्रक्रियालाई सरल बनाउने र विमानस्थलका सेवा सुविधामा सुधार ल्याउने विश्वास गरिएको छ ।

अब जनकपुर विमानस्थलमा यात्रुहरूलाई केवल ५ देखि १० मिनटको लागि पिक र ड्रप गर्न जाने सवारी साधनहरूलाई कुनै शुल्क नलाग्ने भएकोले यात्रुहरूको लागि यो एक सकारात्मक परिवर्तन साबित हुने ठाकुरले बताए ।