जनकपुरधामको ऐतिहासिक मठ–मन्दिरको जग्गामा भूमाफियाहरूको नजर, सरकारी निकायहरू मौन

जनकपुरधाम, १४ माघ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाम, जसलाई ‘५२ कुटी ७२ कुण्ड’को उपमाले चिनिन्छ, अहिले संकटको अवस्थामा पुगेको छ । विश्वभरका हिन्दुहरूको धार्मिक आस्थाको केन्द्र मानिने जनकपुरधाम, जहाँ मिथिलाका महान् राजर्षि जनकको राज्यभूमि थियो र माता सीता (जानकी) तथा उनका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतकीर्ति जन्मिएका थिए । आज यहाँको भूमिले अतिक्रमण र अव्यवस्थित विकासका कारण आफ्नो सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्व गुमाउँदैछ ।
जनकपुरधामको सौन्दर्य मिथिलाको धरोहरका रूपमा रहेको अनगिन्ती कुण्ड र मठ–मन्दिरहरूको उपस्थितिले प्रदान गरेको थियो ।मिथिलाकै केन्द्र जनकपुरधामले मैथिली भाषा, कला र संस्कृतिको अनुपम सौन्दर्यलाई समेटेर सदा चम्किरहने यो शहर अहिले भने भूमाफियाहरूको अवैध कब्जा र सरकारी निकायहरूको बेवास्ताका कारण मौलिक पहिचान गुमाउने स्थितिमा पुगेको छ । पौराणिक र धार्मिक महत्वका कुण्डहरू मासिएका छन् । तिनको स्थानमा गगनचुम्बी भवनहरू ठड्याइएका छन् । र, बाँकी रहेका कुण्डहरू पनि भूमाफियाहरूको नजरमा परेका छन् ।
सबैभन्दा ठूलो चिन्ताको विषय भनेको जनकपुरधामका ऐतिहासिक मन्दिरहरू र तिनको जग्गा हो । विशेष गरी सिया रघुनाथ सदन मन्दिरको जग्गामा खुलेआम भवनहरू निर्माण भइरहेको छ । तर, विडम्बनाको कुरा के भने यस अवैध निर्माणलाई रोक्न कुनै पनि सरोकारवाला निकायले कदम चाल्न सकेको छैन । जनकपुरधामको रामानन्दचोक नजिकै अवस्थित बिहारकुण्डमा रहेको सिया रघुनाथ सदनको जग्गामा भूमाफियाहरूले अवैध रूपमा निजी घरहरू निर्माण गरिरहेका छन् । यो प्रक्रिया बिना कुनै कानुनी अनुमति र बिना उपमहानगरपालिकाको इजाजत भइरहेको छ । तर, स्थानीय प्रशासन मौन रहेको देखिन्छ ।
मन्दिरका महन्थ नामदेव शरणको अवैध मानिएको कागजातलाई आधार बनाएर भूमाफियाहरूले एकपछि अर्को भवन ठड्याइरहेका छन् । सिया रघुनाथ सदनको खेतीयोग्य जग्गा जुन मन्दिरको पूजा, महन्थहरूको भोजन र अतिथिको स्वागत सत्कारका लागि दिइएको थियो, अहिले अतिक्रमणमा परेको छ । लगभग १९ करोड रुपैयाँ भन्दा बढी मूल्य रहेको यो जग्गामा भूमाफियाहरूले बिना जानकारी र अवैध रूपमा भवन निर्माण गर्नेहरूबाट प्रतिधुर लाखौं रुपैयाँ असुल गरिरहेका छन् ।
स्थानीय र प्रदेश सरकारको दाबी छ कि गुठीको जग्गासम्बन्धी अधिकार उनीहरूसँग छैन । तर, संघीय सरकारका प्रतिनिधिहरूले महन्थ शरणको उजुरी उपमहानगरपालिकालाई पठाइसकेको भए पनि अझैसम्म कुनै ठोस कदम चालिएको छैन । स्थानीय नेताहरूले चुनावको समयमा मठ–मन्दिरका जग्गाको रक्षा गर्ने वाचा गरे पनि अहिले उनीहरू मौन छन् ।
सिया रघुनाथ सदन मन्दिरको महन्थ शरणले अवैध संरचनाको विरुद्ध उजुरी दिए पनि भूमाफियाहरूको धम्कीका कारण उनीले मन्दिरको सुरक्षाका लागि सिसिटीभी जडान गर्न बाध्य भएका छन् । यसका बावजुद अवैध रूपमा घरहरू निर्माण हुने क्रम रोकिएको छैन ।
महन्थ शरणले उपमाहानगरपालिकाको कार्यालयमा अवैध संरचना बनाइरहेका १७ जनाको विरुद्ध अर्को उजुरी पनि दिएका छन् ।
जनकपुरधाम, जसले मैथिली संस्कृति र धर्मको धरोहरलाई धान्दै आएको थियो, अहिले भूमाफियाहरू र सम्बद्ध निकायहरूको उदासिनताले दुर्गन्धित भइरहेको छ ।
सम्बन्धित अर्को समाचार तलको लिंकमा छ ।
जनकपुरधामः गुठीको जग्गामा भूमाफियाको तानातानी, मन्दिरको आम्दानीमा महन्थको मनोमानी