सर्लाही, ०८ कार्तिक । सर्लाहीको मलंगवामा रहेको हनुमान मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जना नाबालकलाई पक्राउ गरेको छ ।

मलंगवा नगरपालिका–८ स्थित हनुमान मन्दिरमा चोरी भएको घटनापछि प्रहरीले १६ र १३ वर्षका दुई नाबालकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार बिहान करिब ३ बजे मन्दिरमा चोरी भएको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले मन्दिर परिसरबाटै उनीहरूलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार मन्दिरबाट हनुमानजीको मूर्तिमा लगाइएको चाँदीको मुकुट, माला, टीका तथा मुख र अनुहारमा लगाउने विभिन्न चाँदीका गरगहना चोरी भएका छन् ।

त्यस्तै, मन्दिरको दानपेटिकामा रहेको रकमसमेत चोरी भएको मन्दिरका पुजारीले जानकारी दिएका छन् । दानपेटिकाबाट कति रकम चोरी भयो भन्ने यकिन हुन सकेको छैन ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै नाबालक यसअघि पनि चोरीका घटनामा संलग्न रहेको र बाल सुधार गृहमा बसेर छुटेको खुलेको छ । उनीहरू अन्य चोरीका घटनामा समेत संलग्न रहे–नरहेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटना कुनै धर्म वा सम्प्रदायलाई लक्षित गरेर नभई चोरी गर्ने उद्देश्यले भएको देखिएको जनाएको छ । घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले स्पष्ट पारेको छ ।

यस घटनालाई लिएर धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । सामाजिक सद्भाव भड्काउने गतिविधि गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।