जनकपुरधाम, ०८ कार्तिक । मिथिलाञ्चलमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कोजाग्रत पूर्णिमा श्रद्धा र उल्लासका साथ मनाइँदैछ ।

यस अवसरमा महोत्तरीको रतौलीबाट जनकपुरधामस्थित जानकी मन्दिरमा १०८ पाहुर ल्याइएको छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन ल्याइने पाहुरबाट भगवान् सीतारामको चुमाओन गर्ने परम्परा रहिआएको छ ।

महोत्तरीको रतौली निवासी स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको घरबाट ल्याइएको पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, तरकारीका साथै भगवान् राम र माता जानकीका लागि वस्त्र समावेश छन् ।

रतौलीबाट जानकी मन्दिरमा पाहुर ल्याउने परम्परा १४२ वर्षदेखि निरन्तर चल्दै आएको नविन ठाकुरले बताए । उनले यस ऐतिहासिक परम्परालाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिरमा भजनकीर्तनलगायत धार्मिक कार्यक्रम आयोजना गरिन्छन् । पर्वलाई थप उल्लासमय बनाउन प्रत्येक वर्ष हास्यपरिहासका कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवका अनुसार यी कार्यक्रमले पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्ने गरेका छन् ।

कोजाग्रत पूर्णिमा मिथिलाञ्चलमा नवविवाहित दम्पतीका लागि पनि विशेष महत्वको पर्व हो । यस दिन बेहुलाको ससुरालीबाट पाहुर ल्याउने र त्यसबाट बेहुलाको चुमाओन गर्ने परम्परा छ ।

चुमाओनपछि विशेष मन्त्र उच्चारण गर्दै बेहुलालाई दुर्वाक्षत दिने गरिन्छ । त्यसपछि बेहुलाको घरमा भोजभतेर आयोजना गरी आफन्त तथा इष्टमित्रसँग खुसी साटासाट गर्ने चलन छ ।

यस पर्वमा पान र मखान बाँड्ने परम्पराले पनि विशेष स्थान पाएको छ । धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावसँग जोडिएको कोजाग्रत पूर्णिमाले मिथिलाञ्चलको मौलिक संस्कृति तथा परम्परालाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।