सिरहाका सीमा क्षेत्रबाट ७ लाख ७२ हजार रुपैयाँभन्दा बढीका सामान बरामद
सिरहा, ०८ कार्तिक । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
अवैध रूपमा सामान ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्लाका विभिन्न सीमा इलाकामा गरिएको निगरानी तथा चेकजाँचका क्रममा ती सामान बरामद गरिएको हो ।
सशस्त्र प्रहरीले गरेको कारबाहीका क्रममा मोटरसाइकल, मदिरा, किराना सामान, कस्मेटिक सामग्री तथा कपडालगायतका वस्तु बरामद गरेको जनाएको छ । बरामद गरिएका सामानको कुल अनुमानित मूल्य ७ लाख ७२ हजार ६२० रुपैयाँ रहेको छ ।
बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सिरहाका सीमा क्षेत्रबाट हुने अवैध सामान ओसारपसार नियन्त्रण गर्नुका साथै सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निगरानी र चेकजाँचलाई तीव्रता दिइएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले बताए ।
उनका अनुसार सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित रूपमा निगरानी तथा सुरक्षा जाँच गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




