जनकपुरधाम, ०८ कार्तिक । संघीय सरकारका स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणस्थलको स्थलगत निरीक्षण गरेकी छन् ।

निर्माणका लागि प्रस्तावित जग्गाको अवस्था र परियोजनाको तयारीबारे जानकारी लिन मन्त्री मेहता आइतबार ढल्केवर पुगेकी हुन् ।

सडक दुर्घटनामा गम्भीर घाइते हुने बिरामीलाई समयमै विशेषज्ञ उपचार उपलब्ध गराउने तथा उपचारका लागि काठमाडौंलगायत टाढाका सहर जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले ट्रमा सेन्टर निर्माणको योजना अघि सारिएको हो ।

यो सेन्टर सञ्चालनमा आए मधेश प्रदेशमा आकस्मिक तथा गम्भीर प्रकृतिका बिरामीको उपचार सेवा थप प्रभावकारी हुने विश्वास गरिएको छ ।

स्थलगत निरीक्षणपछि मन्त्री मेहताले ट्रमा सेन्टर निर्माणको काम चाँडै अघि बढाइने बताइन् । उनका अनुसार निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढिसकेको छ भने अब निर्माण कार्यलाई गति दिइनेछ । उनले सेन्टर निर्माणको शिलान्यास पनि चाँडै गरिने जानकारी दिइन् ।

ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक रकम विनियोजन गरेको थियो । मिथिला नगरपालिका–७ मा रहेको प्रस्तावित निर्माणस्थलका लागि चार बिघा जग्गासमेत प्राप्त भइसकेको छ ।

ट्रमा सेन्टर निर्माण सम्पन्न भई सञ्चालनमा आए सडक दुर्घटनामा परी गम्भीर घाइते भएका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ ।