–ज्योति झा
जनकपुरधाम, ०८ कार्तिक ।
मिथिला संस्कार र संस्कृतिका दृष्टिले समृद्ध क्षेत्र हो । यहाँको मौलिक संस्कृति, परम्परा, भेषभूषा, खानपान र जीवनशैली बुझ्न देश विदेशबाट मानिसहरू आउने गर्छन् । मिथिलाको संस्कृतिबाट प्रभावित भएर विदेशीहरू समेत यहाँको परम्परागत पहिरन र सांस्कृतिक अभ्यासप्रति आकर्षित हुन थालेका छन् । तर विडम्बना, आफ्नै संस्कृतिका धनी हामी भने त्यसलाई व्यवहारमा आत्मसात् गर्नुभन्दा सामाजिक सञ्जालका रिल र औपचारिक भाषणमा सीमित गर्दै गइरहेका छौँ ।

मिथिलाको संस्कृति कुनै भूगोलको परिचय मात्र नभई यहाँको जीवनशैली, परम्परा, पारिवारिक सम्बन्ध, लोकविश्वास र आत्मीयताको जीवन्त दस्तावेज हो । यहाँ मनाइने हरेक पर्वले कुनै न कुनै सांस्कृतिक सन्देश बोकेको हुन्छ । प्रत्येक पर्वको आफ्नै मौलिकता र विशेषता छ । यस्तै विशिष्ट पर्वमध्ये एक हो— कोजाग्रत पूर्णिमा ।

शरद ऋतुको निर्मल आकाशमा पूर्णचन्द्रको उज्यालो फैलिँदा मिथिलाका गाउँदेखि शहरसम्म छुट्टै रौनक छाउँछ । घरआँगनमा उत्साह, परिवारमा उमङ्ग, परिकारको सुगन्ध र लोकगीतको मधुर धुनले वातावरणलाई उल्लासमय बनाउँछ । पान, मखान, माछा, दही, चिउरा तथा अन्य परम्परागत परिकारसँग जोडिएको कोजाग्रतले मिथिलाको सांस्कृतिक पहिचानलाई जीवन्त बनाउँछ ।

कोजाग्रत आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने पर्व हो । यसलाई कोजाग्रत पूर्णिमा पनि भनिन्छ । धार्मिक मान्यताअनुसार यस दिन माता लक्ष्मीको पूजा आराधना गरिन्छ । मिथिलामा भने कोजाग्रतको महत्त्व धार्मिक अनुष्ठानमा मात्र सीमित छैन । यो पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने, सामाजिक आत्मीयता बढाउने र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कारलाई निरन्तरता दिने अवसर पनि हो ।

नवविवाहित वरको सम्मान र पारिवारिक आत्मीयता
नवविवाहित वरसँग जोडिएको कोजाग्रतको परम्परा मिथिलाको विशिष्ट सांस्कृतिक विशेषता हो । विवाहपछिको पहिलो कोजाग्रतमा वधूपक्षबाट वरपक्षलाई पान, मखान, मिठाई, वस्त्रलगायतका सामग्री अर्थात् ‘भार’ पठाउने परम्परा छ । यस अवसरमा ज्वाइँलाई विशेष सम्मान दिने चलन मैथिल समाजमा प्रचलित छ । ज्वाइँलाई भगवान् विष्णुको स्वरूप मानेर आदर गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता पनि पाइन्छ ।

यो परम्परा उपहार आदानप्रदान गर्ने औपचारिकतामा मात्र सीमित छैन । यसले विवाहपछि दुई परिवारबीच स्थापित सम्बन्धलाई थप आत्मीय बनाउने, आपसी सद्भाव बढाउने र पारिवारिक जिम्मेवारी तथा सम्मानको भावनालाई बलियो बनाउने सन्देश दिन्छ ।

मिथिलाको कुरा गर्दा पान र मखानलाई बिर्सन सकिँदैन । पाहुनाको स्वागतदेखि शुभकार्यसम्म पानको विशेष महत्त्व छ । त्यसैगरी मखान धार्मिक अनुष्ठान, पर्व र परम्परागत खानपानसँग गहिरो रूपमा जोडिएको छ । कोजाग्रतमा पान र मखानको उपस्थिति खानपानको विषय मात्र होइन । यसले मैथिल समाजको आतिथ्य सत्कार, समृद्धिको कामना र पारिवारिक सम्बन्धको आत्मीयता झल्काउँछ ।

पोखरीका माछा, घरको दही, चिउरा, अचार र तिलकोरको तरुवाजस्ता परिकारले मिथिलाको मौलिक स्वादलाई जीवन्त बनाउँछन् । यी परिकारमा यहाँको माटो, पानी, कृषि र स्थानीय जीवनशैलीको सुगन्ध मिसिएको हुन्छ । परम्परागत खानपान स्वादको विषय नभई स्थानीय उत्पादन, ज्ञान र पुस्तौँदेखि विकसित हुँदै आएको जीवनशैलीको अभिन्न अङ्ग पनि हो ।

पहिरन, लोकगीत र परम्पराको जीवन्तता
मिथिलाको कोजाग्रत परम्परागत पहिरन, लोकगीत र पारिवारिक जमघटबिना अधुरो हुन्छ । पुरुषको शिरमा पाग, शरीरमा धोती कुर्ता र पाहुनाको स्वागतमा पान प्रस्तुत गर्ने दृश्यले मैथिल संस्कृतिको विशिष्टता झल्काउँछ । घरआँगनमा गाइने मङ्गलगीत, महिलाहरूको सामूहिक सहभागिता र आफन्तबीचको भेटघाटले पर्वलाई अझ जीवन्त बनाउँछ ।

टाढा रहेका परिवारका सदस्यसमेत यस अवसरमा घर फर्कने हुँदा कोजाग्रत पारिवारिक पुनर्मिलनको अवसर पनि बन्छ । आपसी सुखदुःख साटासाट गर्ने, सम्बन्धलाई नवीकरण गर्ने र नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग परिचित गराउने माध्यमका रूपमा समेत यस पर्वको महत्त्व छ ।

यस्ता परम्पराले नयाँ पुस्तालाई आफ्नो भाषा, भेषभूषा, लोकगीत, खानपान र संस्कारसँग जोड्छन् । त्यसैले कोजाग्रतलाई एउटा दिनको उत्सवका रूपमा मात्र नभई पुस्तान्तरण हुँदै आएको अमूल्य सांस्कृतिक सम्पदाका रूपमा बुझ्न आवश्यक छ ।

संस्कृति संरक्षण कि प्रदर्शन?
समय परिवर्तनशील छ । समयसँगै पर्व मनाउने शैली पनि बदलिँदै गएको छ । सामाजिक सञ्जालले कोजाग्रतको रौनकलाई व्यापक रूपमा फैलाउन सहयोग गरेको छ ।

गाउँको उत्सव शहरसम्म र स्थानीय परम्परा देश विदेशसम्म पुग्नु सकारात्मक पक्ष हो । आफ्ना मौलिक संस्कृति र परम्परालाई विश्वसामु चिनाउनु आफैँमा महत्त्वपूर्ण काम हो । तर, यहाँ एउटा गम्भीर प्रश्न उठ्छ— हामीले आफ्नो संस्कृतिलाई साँच्चिकै बुझिरहेका छौँ कि प्रदर्शन मात्र गरिरहेका छौँ?

पर्वका दृश्य सामाजिक सञ्जालमा राख्नु गलत होइन । आफ्ना परम्परा संसारलाई देखाउनु पनि आवश्यक छ । तर, तस्बिर र भिडियोमा संस्कृति देखिए पनि व्यवहारमा त्यसको मर्म हराउन थाल्यो भने चिन्ता गर्नुपर्ने हुन्छ । अहिले संस्कृतिका धेरै पक्ष सामाजिक सञ्जालका रिल, तस्बिर र औपचारिक भाषणमा सीमित हुँदै गएका छन् भन्ने यथार्थलाई नकार्न सकिँदैन ।

पान र मखानको तस्बिर सामाजिक सञ्जालमा राख्दैमा मैथिल पहिचान सुरक्षित हुँदैन । त्यससँग जोडिएको आत्मीयता, सम्मान, आतिथ्य सत्कार र परम्पराको ज्ञान पनि जोगाउनुपर्छ ।

पाग लगाएर तस्बिर खिच्नु मात्र संस्कृति संरक्षण होइन । पागको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बुझ्नु र त्यसप्रति सम्मान राख्नु पनि उत्तिकै आवश्यक छ । लोकगीतको भिडियो बनाउनु मात्र पर्याप्त हुँदैन; ती गीत गाउने, सिक्ने र नयाँ पुस्तालाई सिकाउने अभ्यास पनि निरन्तर हुनुपर्छ ।

अहिले कतिपय अवस्थामा विधिभन्दा आडम्बर र आत्मीयताभन्दा देखावटीपन बढी देखिन थालेको छ । कोजाग्रतलाई अनावश्यक खर्च, प्रतिष्ठाको प्रतिस्पर्धा र प्रदर्शनको माध्यम बनाउनु यसको मूल भावनाविपरीत हुन सक्छ । पर्वको वास्तविक सुन्दरता खर्चको मात्रा वा उपहारको मूल्यमा नभई आपसी सम्मान, पारिवारिक आत्मीयता र सांस्कृतिक निरन्तरतामा निहित हुन्छ ।

नयाँ पुस्तासँग जोड्न आवश्यक छ संस्कृति
मिथिलाको भाषा, साहित्य, लोकगीत, लोककला, खानपान र पर्वहरूले यस क्षेत्रलाई विशिष्ट पहिचान दिएका छन् । तर, यी सम्पदा आफैँ सुरक्षित रहँदैनन् । तिनको संरक्षणका लागि परिवार, समाज, विद्यालय, साहित्यकार, संस्कृतिकर्मी, सञ्चारमाध्यम र नयाँ पुस्ताको सक्रिय भूमिका आवश्यक छ ।

परिवारमा बालबालिकालाई कोजाग्रतको महत्त्व बुझाउनु, मैथिली लोकगीत गाउन र सिक्न प्रोत्साहित गर्नु, परम्परागत परिकार तथा पहिरनसँग परिचित गराउनु र पुराना सांस्कृतिक चलनको अर्थ बताउनु संरक्षणको व्यावहारिक शुरुवात हुन सक्छ ।

विद्यालयमा स्थानीय भाषा, लोकसंस्कृति र परम्परासम्बन्धी गतिविधि सञ्चालन गर्न सकिन्छ । सञ्चारमाध्यमले पनि पर्वका दृश्य मात्र प्रस्तुत नगरी तिनको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक अर्थ र सामाजिक महत्त्वबारे सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्छ ।

त्यसैगरी, आधुनिक पुस्ताले प्रविधिलाई संस्कृतिको विकल्पका रूपमा नभई संरक्षण र प्रवद्र्धनको माध्यमका रूपमा प्रयोग गर्नुपर्छ । सामाजिक सञ्जालमा रिल बनाउँदा त्यसको उद्देश्य लोकप्रियता हासिल गर्नु नभई परम्पराको वास्तविक अर्थ र महत्त्वलाई नयाँ पुस्तासम्म पुर्याउनु पनि हुनुपर्छ । संस्कृति देखाउने विषय मात्र नभई बुझ्ने, अपनाउने र पुस्तान्तरण गर्ने जीवनपद्धति हो भन्ने चेतना आवश्यक छ ।

कोजाग्रत मिथिलावासीका लागि पूर्णिमाको एउटा रात मात्र नभई यो धार्मिक आस्था, पारिवारिक सम्बन्धको नवीकरण, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको उत्सव हो । पानको सुवास, मखानको मिठास, लोकगीतको मधुरता, पागको गौरव र परिवारको आत्मीयतामा मिथिलाको आत्मा भेटिन्छ ।

मिथिलाको संस्कृतिप्रति विदेशीहरूको आकर्षण बढ्नु खुसीको विषय हो । तर, अरूले हाम्रो संस्कृति अपनाउन थालेका बेला हामी आफैँ त्यसको मर्मबाट टाढिँदै जानु विडम्बनापूर्ण हुनेछ । त्यसैले संस्कृतिलाई रिलमा देखाउने मात्र नभई दैनिक जीवनमा अपनाउने अभ्यास पनि गर्नुपर्छ ।

हाम्रो संस्कृति हाम्रो पहिचान हो, हाम्रो इतिहास हो र भावी पुस्ताका लागि छाडेर जाने अमूल्य सम्पत्ति हो । यो सम्पत्ति पुस्तौँसम्म जीवित राख्ने हो भने कोजाग्रतजस्ता पर्वको बाहिरी रौनकसँगै त्यसको मौलिकता, आत्मीयता र सांस्कृतिक मर्मलाई पनि जोगाउन आवश्यक छ । परम्परा व्यवहारमा जीवित रहेसम्म मात्र संस्कृति जीवन्त रहन्छ ।