मिथिला सौन्दर्य प्रतियोगिताको सिजन–२ आयोजना हुँदै
जनकपुरधाम, ०८ कार्तिक । मिथिलाको मौलिक कला, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘मिथिला सौन्दर्य प्रतियोगिता–सिजन २’ आयोजना हुने भएको छ ।
बलराम ग्रुपको आयोजनामा हुन लागेको प्रतियोगिताले युवा प्रतिभाको व्यक्तित्व विकाससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मिथिलाको पहिचान स्थापित गर्ने लक्ष्य राखेको छ ।
सांस्कृतिक सौन्दर्य प्रतियोगिताका रूपमा आयोजना हुन लागेको यस कार्यक्रममार्फत मिथिलाको परम्परागत पहिरन, मैथिली भाषा, मिथिला चित्रकला, लोकगीत, लोकनृत्य तथा सांस्कृतिक सम्पदालाई आधुनिक मञ्चमा प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धीहरूलाई व्यक्तित्व विकास, नेतृत्व क्षमता, आत्मविश्वास, सार्वजनिक भाषण, मञ्च प्रस्तुति तथा फेसनसम्बन्धी विभिन्न तालिम प्रदान गरिने कार्यक्रमको अवधारणामा उल्लेख छ ।
साथै, मिथिलाको इतिहास, चित्रकला, लोकगीत र परम्पराका विषयमा सांस्कृतिक अभिमुखीकरणसमेत गराइनेछ ।
प्रतियोगिताअन्तर्गत परम्परागत मिथिला पहिरन प्रदर्शन, प्रतिभा प्रस्तुति र सामाजिक प्रभावसम्बन्धी विशेष चरणहरू समावेश गरिएका छन् ।
प्रतिभा प्रस्तुतितर्फ प्रतियोगीहरूले मैथिली लोकगीत, नृत्य, अभिनय, चित्रकलालगायतका कला प्रस्तुत गर्न सक्नेछन् । त्यस्तै, सामाजिक प्रभावसम्बन्धी चरणमा संस्कृति संरक्षण, समाजसेवा तथा स्थानीय विकासका विषयमा आफ्ना विचार राख्ने अवसर पाउनेछन् ।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य सौन्दर्यलाई बाह्य आकर्षणमा मात्र सीमित नराखी सांस्कृतिक ज्ञान, प्रतिभा, व्यक्तित्व, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वसँग जोड्नु हो ।
यसले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्पराप्रति आकर्षित गर्दै तिनको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास गरिएको छ ।
मिथिलाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार र विभिन्न सामाजिक विषयमा जनचेतना अभिवृद्धि गर्नसमेत प्रतियोगिताले योगदान पुर्याउने लक्ष्य राखेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




