जनकपुरधाम, ८ कार्तिक । ५२ कुट्टी र ७२ कुण्डको नामले प्रख्यात जनकपुरधामका ऐतिहासिक एवं पौराणिक महत्वका सम्पदाहरुको अस्तित्व संकटमा पर्दै गइरहेको छ ।

भूमाफियाहरूको संलग्नता र विभिन्न मन्दिरका महन्थहरूको व्यक्तिगत स्वार्थका कारण यहाँका ऐतिहासिक सम्पदाहरु दिन प्रतिदिन अतिक्रमणको चपेटामा परिरहेका छन् । यस शहर भित्रका अमृत कुण्ड, जनक सरोवर, बलदेव सर, गोपाल सर, धोवीयाही पोखरी, पापमोचनी सर, पयश्विनी सर जस्ता दर्जनौँ पोखरीहरूको अस्तित्व लोप भइसकेका छन् ।

विगतमा केन्द्र सरकारले जनकपुरधामका पोखरीहरूको सौन्दर्यीकरणका लागि २ सय करोड रुपैयाँ सहयोग दिएपनि हालसम्म कुनैपनि पोखरीको सौन्दर्यीकरण गरिएको छैन । पैसा कहाँ गयो त्यसको कुनै लेखाजोखा छैन ।

नेपाल सरकारले जनकपुरधामका पोखरीहरुको महत्वलाई बुझ्दै करिव ५ वर्ष अगाडी जानकी मन्दिरको छेउमा रहेको तेलहा र मड़हा दूबै पोखरीको सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ छुट्याएको थियो । शहरी विकास तथा भवन निर्माण कार्यालयको सघन शहरी विकास कार्यक्रमअन्तर्गत अस्तित्व मेटिन लागिएको यी दुई पोखरीको सौन्दर्यीकरणको काम ठेक्कामा समेत लगायो । तर, स्थानीयवासीले पोखरीको अतिक्रमित जग्गा खाली नगराए सौन्दर्यीकरणको काम अगाडि बढ्न नदिने अडान दोहराएपछि सो पोखरीको सौन्दर्यीकरणको काम रोकिएको थियो ।

त्यस्तै जनकपुरधाम–७ स्थित महाराजसागर पोखरीको सौन्दर्यीकरणका लागि ३ करोड ६१ लाख, वडा नम्बर–२० देवपुरा रूपैठास्थित नोचा पोखरी सौन्दर्यीकरणका लागि ३ करोड ५५ लाख रुपैयाँ छुट्टयाइएपनि पोखरीहरुको अवस्था जस्ताको त्यस्तै छ । तर, पैसा कसको गोजीमा गयो त्यसको कुनै हरहिसाब छैन ।

ऐतिहासिक महत्वका पोखरीहरुको सौन्दर्यीकरण गर्ने दायित्व स्थानीय सरकारको रहेपनि स्थानीय सरकारले संरक्षण गर्नुको सट्टा उल्टै पोखरीहरुमा माछा मार्ने काम गरेको विगतका कयौं उदाहरणहरु छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का स्थानीय सुभाष कर्णले भने, ‘जनकपुरधामका अधिकांश पोखरीहरु अतिक्रमणको चपेटामा परिसकेका छन् । सार्वजनिक पोखरी रहेको ठाउँमा अहिले निजी भवनहरु ठड्याइएका छन् । पोखरी सौन्दर्यीकरण हुनुपर्ने ठाउँमा नेता र भूमाफियाहरुको घर सौन्दर्यीकरण गरिएको छ । तर, पोखरीहरु भने अहिलेसम्म सौन्दर्यीकरणको प्रतीक्षामै छन् ।’

यहाँका अधिकांश पोखरीलाई राजनीतिक प्रभावमा केही व्यक्तिले अतिक्रमण गरी व्यक्तिगत नाममा समेत दर्ता गराइसेका छन् ।शहरभित्र बाँकी रहेका ऐतिहासिक पोखरी तथा तालहरु पनि अहिले पर्याप्त संरक्षण नहुँदा अतिक्रमणको चपेटाका कारण सामान्य पोखरीको रूपमा परिणत भईरहेका छन् । संरक्षण र प्रवद्र्धनका लागि वर्षेनी सरकारी निकायबाट रकम विनियोजन भएपनि अतिक्रमणमुक्त हुन सकेका छैनन् । लामो समयदेखि जनकपुरधामका ऐतिहासिक महत्वका पोखरीहरु अतिक्रमणमा परेको भएपनि राजनीतिक स्थायित्व नहुँदा अतिक्रमणमुक्त गर्न सकिएको छैन ।

प्रदेश सरकारले पोखरी तथा ताल तलैया संरक्षण एवं सौन्दर्यीकरणको नाममा बजेट विनियोजन समेत गरेको छ । तर, सो बजेटमा जनकपुर क्षेत्रका करिव ५ दर्जन पोखरी र ताल तलैयामध्ये मात्र ८ वटालाई ग्राह्यतामा राखि रकम छुट्याइएको देखिन्छ । प्रदेश सरकारको रातो किताब अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तेलहा–मरहा पोखरी सौन्दर्यीकरणका लागि १ करोड ५० लाख, सिताकुण्डका लागि २५ लाख, धर्नोचानी पोखरीका लागि १० लाख, थुमौना पोखरी सौन्दर्यीकरणका लागि १० लाख र डेब्डिया भोइल सौन्दर्यीकरणका लागि ३० लाख रुपैयाँ छुट्याएको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले समेत गंगा सागर पोखरी सौन्दर्यीकरण तथा संरक्षणको नाममा ३० लाख, दुधमत्ती नदी सरसफाइ तथा संरक्षणका लागि २० लाख, अग्नीकुण्ड पोखरी सौन्दर्यीकरणका लागि १५ लाख रुपैयाँ छुट्याइएको छ । यहाँस्थित अमृतकुण्ड, बलदेवसर र गोपालसर लगायतको जमिनमा व्यापारीहरुले कब्जा गरेर बजार बनाएका छन् । तैलघृतिकासर, मण्डनसर, चन्द्रकुप, रामसागर, मुरलीसर, पादप्रक्षालन गोडधोईसर, पुरन्दरसर, पाकवतीसर, दीर्घिकासर, लक्ष्मणसर, सेवामन्तकसर, धूतपापसर, सीताकुण्ड, पापमोचनीसर आदिले निरन्तर अतिक्रमण झेल्दै गरेको सरकारी प्रतिवेदन २०६२ ले देखाउँछ ।

मन्दिरहरु पनि ओझेलमा

यहाँका केही पौराणिक मन्दिरहरु पनि ओझेलमा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ स्थित कुपेश्वरनाथ महादेव मन्दिर र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ स्थित गिरनारी कुट्टी पौराणिक एवं ऐतिहासिक महत्वको रहेपनि अहिले ति सबै अतिक्रमणको चपेटामा परेका छन् । यी शिव मन्दिरहरुको प्रचार प्रसार नभएका कारण ओझेलमा परेको स्थानीयको भनाई छ ।

त्रेतायूगमा मिथिलाका राजा शिरध्वज जनकले राजधानी जनकपुरधामको चारै कूनामा महादेव मन्दिरको स्थापना गरेका थिए । जसमध्ये कपिलेश्वरनाथ महादेव मन्दिर पनि एक हो । यहाँ प्राचिनकालिन शिव मन्दिर रहेपनि यसको व्यवस्थापन तथा प्रचार प्रसारका लागि सम्बन्धित निकायले ध्यान नंिदंदा ओझेलमा परेको स्थानीयको आरोप छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ का वडाध्यक्ष रामअशिष पजियारले कपिलेश्वरनाथ मन्दिरको संरक्षण, सम्बद्र्धन तथा विकासका कामहरु स्थानीयवासीको अग्रसरता तथा चन्दा संकलन गरेर मात्रै हुँदै आईरहेको बताए । उनले यहाँ प्राचिन शिवलिङ्ग रहेपनि यस मन्दिरको विकास तर्फ प्रदेश सरकार तथा स्थानीय सरकारले कुनै चासो नदेखाएको आरोप लगाए ।

त्यस्तै, कपिलेश्वरनाथ यूवा क्लवका अध्यक्ष तुलसी पजियारले मन्दिरको ए्ेतिहासिकताको विषयमा प्रचार प्रसारका लागि स्थानीय स्तरबाटै पहल गर्ने योजना बनाईरहेको जानकारी दिए । वि.सं. १९९० सालमा आएको भूकम्पमा मन्दिर भत्किएपछि त्यहाँ रहेको अभिलेख तथा त्यहाँका बहुमूल्य मूर्तिहरु कहाँ लगियो यो विषयमा कसैलाई कुनै जानकारी नरहेको र यसको खोज अनुसन्धान हुनु आवश्यक रहेको स्थानीयको भनाई छ ।

कपिलेश्वरनाथ महादेव मन्दिरको इतिहास

धनुषाको सदरमुकाम जनकपुरधाममा रहेको प्रसिद्ध कपिलेश्वरनाथ महादेव मन्दिर समेत ख्याती एवं ऐतिहासिकताको हिसाबले प्रसिद्ध मन्दिर हो । कपिलेश्वर नाथ महादेवको मन्दिर जनकपुर उपमहानगरपालिका वडा नम्बर–१६ जनकपुर जयनगर रेल्वेलाइन भन्दा दक्षिणमा अवस्थित छ । गुम्बा जस्तै देखिने यो शिखर शैलीको मन्दिर छ ।

धार्मिक ग्रन्थहरुका अनुसार जनकवंशीय राजा शिरध्वजले जनकपुरको चारै दिशामा महादेवको स्थापना गरेका थिए । ती चार महादेवहरु मध्ये कपिलेश्वरनाथ पनि एक हो । कपिल मुनीको आश्रमको मुनी समेत यहीँ रहेको मान्यता छ । पहिले यो मन्दिरको निर्माण सिमरौनगढ शैलीमा गरिएको थियो । पछि ती संरचना बि.सं. १९९० सालको भूकम्पमा ध्वस्त भएका थिए । सोही स्थानमा विष्णुगिरी नामका एक काँवरिया पुगेका थिए । उनले नै भत्केको मन्दिर तोडाउन लगाएर नयाँ मन्दिर निर्माण गर्ने बताएका थिए । पछि उनी फर्केर आएका थिएनन् ।

मन्दिर तोडेपछि स्थानीय यज्ञप्रसादको भूमिकामा पुरातत्व विभागबाट बि.सं. २०३९ सालमा आर्थिक सहयोग गरेपछि नयाँ मन्दिरको निर्माण भएको थियो । स्थानीयवासीको सक्रियतामा मन्दिरमा शिवलिङ्ग पुर्नस्थापना गरि मन्दिर निर्माण गरिएको थियो । मन्दिर परिसरको चारैतिर स–साना मन्दिरहरु बनाएर त्यसमा भगवानका प्रतिमाहरु स्थापित गरिएका छन । मन्दिरको उत्तर पूर्वमा संतोषी माँ, पूर्व दक्षिणमा गणेश भगवान, दक्षिण पश्चिममा राम जानकी, पश्चिममा शिव पार्वती र पश्चिम उत्तरमा हनुमानजीको प्रतिमा स्थापना गरिएको छ । गुठी अधिनस्थ रहेको यो मन्दिर ५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।

गिरनारी कुट्टी

टिकमगढको गिरनारका वैद्य राम गिरीले यस मन्दिरको स्थापना गरेकाले कुट्टीको नाम गिरनारी कुट्टी राखिएको स्थानीय बताउँछन् । उनी टिकमगढका राजाको कुल पुरोहित समेत थिए ।

राम मन्दिर तथा जानकी मन्दिरभन्दा पनि पुरानो रहेको सो मन्दिरमा २ वटा शिवलिङ्ग रहेको छ । एउटा शिवलिङ्ग कालो रंगको छ भने अर्को शिवलिङ्ग सेतो रंगको । धार्मिक जानकारहरुका अनुसार कालो रंगको शिवलिङ्ग प्रत्येक स्थानमा पाइन्छ तर सेतो शिवलिङ्ग अदभुत संयोग नै हो । प्राचिन दूबै शिवलिङ्ग नर्मदा नदिबाट ल्याइएको बताइन्छ । कालो शिवलिङ्गको नाम महाकालेश्वर राखिएको छ भने, सेतो रंगको शिवलिङ्गको नाम गौरी शंकर राखिएको छ ।

स्थानीय प्रदीप शर्माका अनुसार सन १७३४ मा गिरनारका वैद्य राम गिरी भगवान रामको ससुराली खोज्दै जनकपुरधाम पुगे । उनी भगवान शिवका परम भक्त थिए । राजर्षि जनक पनि भगवान शिवको परम भक्त रहेकाले उनले जनकपुरधाममा शिवलिङ्ग स्थापना गरे ।

जनकपुरधामको सो कुट्टीमा उहिले श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दथ्यो । तर बि.सं. २०२९ सालमा त्यहाँका महन्थको हत्या भएपछि १२ वर्षसम्म सो मन्दिरमा पूजा नै भएन । सो वर्ष तत्कालिन महन्थ रवि गिरी र उनका चेला बिर गिरीको हत्या भयो । उनीहरुको हत्यापछि बन्द रहेको सो मन्दिर स्थानीयको सक्रियतापछि फेरी खोलियो । तर त्यो मन्दिरका लागि पुरानो दिन फर्केर आएन ।

गिरनारी कुट्टी गुठी अधिनस्थ रहेको छ । तर गुठी संस्थानको उदासिनताका कारण यो मन्दिरमा रौनकता आउन सकेको छैन । सो मन्दिरका हालको महन्थ रहेको शिवु गिरी गत ६ वर्षदेखि महन्थ छन् । उनका अनुसार उनलाई गुठी संस्थानले पूजाका लागि ११ सय र तलब ११ सय रुपैयाँ मासिक उपलब्ध गराउँदै आईरहेको छ । त्यसबाहेक गुठी संस्थानले सो मन्दिरमा केही सहयोग नगरेको देखिन्छ । मन्दिरको भवन जिर्ण अवस्थामा रहेपनि त्यसको जिर्णोद्धारका लागि कुनै निकायले पहल नगरेपछि सो मन्दिरले आफ्नो अस्तित्व खोजिरहेको छ ।

मणिमण्डपको क्षेत्र भुमाफियाको कब्जामा

जनकपुरधामको ऐतिहासिक तथा साँस्कृतिक धरोहर मणिमण्डपको क्षेत्र पनि भुमाफियाको कब्जामा परिसकेको छ । जनकपुरधामस्थित रानीबजारमा रहेको मणिमण्डपमा भगवान राम, लक्ष्मण भरत र शत्रुधनको एकैचोटी स्वयंवर भएको जनविश्वास छ । तर, अहिले त्यहाँका अधिकांश जग्गा कब्जामा परिसकेका छन् । यहाँको २५ विगहा जग्गा जानकी मन्दिरका पूर्व महन्थ स्व. रामशरणदास वैष्णवले विभिन्न व्यक्तिलाई बेचिदिएको बताइन्छ । बाँकी जग्गा वर्तमान महन्थ रामतपेश्वर दासले किर्ते हस्ताक्षरमा बेचिदिए ।

महन्थ रामशरणदास वैष्णवले आफ्नो कार्यकालमै विवाह मण्डपको साईनवोर्डमा जानकी मन्दिरको नाम सानो अक्षरमा र छुटगुठी ठूलो अक्षरमा लेखेपछि मन्दिरको सम्पति महन्थको विर्ता सरह हुन पुगेको स्थानीय बताउँछन् । जनकपुरधाम उपमहानगरपालिका भित्र १४ राजगुठीहरु छन् । यहाँका ९० प्रतिशत गुठीको जग्गा मालपोत, नापी, गुठी संस्थान देखि महन्थको मिलोमत्तोमा सकिएको छ ।

जनकपुरको सबैभन्दा बढी जानकी मन्दिरको साविक ६ हजार मध्ये ५ सय ३० विगहा, राममन्दिरको २८ सय ६७ विगहा मध्ये २५ सय विगहा, लक्ष्मण मन्दिरको साविक ४ सय १० विगहा मध्ये ३ सय ९० विगहा अतिक्रमणको चपेटामा परेका छन् । रत्नसागरको ६५ विगहा मध्ये ४२ विगहा, कुवा मठको ४ सय ८५ विगहा मध्ये ४ सय ६० विगहा, हनुमान मठको १ सय ४३ विगहा मध्ये १ सय ३० विगहा जमिन अतिक्रमण भईसकेका छन् ।

जनकपुरधामका विभिन्न गुठीका जग्गाहरु हजार भन्दा बढी परिवारले अतिक्रमण गरेर भोगचलन गरिरहेका छन् । अतिक्रमण गर्नेहरुमा सांसद देखि पूर्वमन्त्री र स्थानीय नेतादेखि ठूला व्यापारिक घराना समेत संलग्न रहेको भोजराज घिमिरेको प्रतिवेदनमा उल्लेख छ ।

महन्थ अर्बौ सम्पत्तिको मालिक

धनुषाको परवाहामा गरिब घरपरिवारमा जन्मेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास अहिले अर्बौका मालिक बनेका छन् । जानकी मन्दिरबाट बार्षिक रुपमा उठ्ने भेटी र चढौना झण्डै २ करोड भन्दा वढी रामतपेश्वरले निजी तवरले खर्च गर्छन् । यो काममा उनलाई छोटे महन्त भनिएका रामरोशन दासले सघाउँछन् । उनीहरुले नीजि सम्पति जस्तै जानकी मन्दिरको सम्पति प्रयोग गर्दै आईरहेका छन् । जसको न कुनै आयव्यय सार्वजनिक हुन्छ, न त कुनै लेखापरिक्षण नै ।

मन्दिरको आम्दनीमा मनोमानी

जानकी मन्दिर अधिनस्त पोखरी, बजार, रामजानकी बिवाह मण्डप, सांस्कृतिक संग्राहलय, फोटो ठेक्का लगायतबाट वर्षेनी १० करोड अम्दानी हुन्छ । तर खर्चको कुने लेखाजोखा छैन् । २०५४ सालमा नियुक्त भएका रामतपेश्वर दास वैष्णव महन्थको पगडी लगाएपछि मन्दिरको श्रीसम्पति आफ्नो नीजि सम्पतिझैं प्रयोग गरिरहेका छन् । महन्त रामतपेश्वर र उनका चेला रामरोशन दास (नातामा मामा भान्जा पर्ने)ले मनोमानी मन्दिरको सम्पति प्रयोग गरिरहेका छन् ।

जानकी मन्दिरको आम्दानी

– कन्या पोखरी, कपालमोचानी, महाराजसर, लक्ष्मणसर लगायत दर्जनौं पोखरीको ठेक्कावापत वार्षिक १ करोड
– रामजानकी विवाह मण्डपको ठेक्कावापत वार्षिक ३५ लाख
– बजार, फलफुल र फुटपाथ ठेक्कावापत वार्षिक २४ लाख
– सांस्कृतिक संग्राहलय ठेक्कावापत वार्षिक ३० लाख
– नटुवा नाच ठेक्कावापत वार्षिक १६ लाख
– रामजानकी विवाह मण्डप, सिडि स्टाँल र फोटो ठेक्कावापत वार्षिक १४ लाख
– जानकी मन्दिर फोटो खिचाई ठेक्कावापत वार्षिक ९ लाख
– जानकी मन्दिर परिसर प्रसाद सटर ३ थान ठेक्कावापत वार्षिक १८ लाख
– लक्ष्मण मन्दिरसंगै रहेको सटर भाडावापत वार्षिक २५ लाख
– एभरेष्ट बैंकको एटिएमबाट वार्षिक ५ लाख
– सुनैना आर्ट ग्यालरीबाट वार्षिक ३ लाख

कमिशनको चलखेलमा महन्त रामतपेश्वर देखि छोटे महन्त भनिएका रामरोशनको सेटिङ्गमा हरेक वर्ष एउटै व्यक्तिले जी हजूरीको आधारमा यी ठाउँहरुको ठेक्का पाउने गरेका छन् । मन्दिरको अवैध आम्दानीबाट रामरोशन आलिशान १ करोड २५ लाख पर्ने ईन्भो कार चढ्दै आएका छन् । यता महन्थ दास भने आफूले कुनै मठमन्दिरको जग्गा बिक्रि वितरण नगरेको दाबी गर्दै आएका छन् ।

गुठीका जग्गाहरु अतिक्रमण

जनकपुरधामस्थित अधिकांश मठ मन्दिरका महन्थ र पुजारीहरुको संलग्नतामा यहाँका अर्बौ रुपैयाँ बराबरको गुठीका जग्गाहरु बिक्री तथा अतिक्रमण गरेको पाइएको छ ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरले जनाएअनुसार ३० बिघा जग्गा अतिक्रमण भएको छ तर यो तथ्यांकको कैयौं गुणा बढी अर्बौं मूल्यको जग्गा भूमाफियाको कब्जामा छन । मन्दिर र पोखरीको शहर मानिने जनकपुरमा मन्दिर वरिपरि अतिक्रमण गरेर बनाइएका ठूलठूला पक्की घर छन । तिनले मन्दिरको सौन्दर्य छेकेका छन ।

यसले गर्दा यहाँका पोखरी, जग्गा, पाटीपौवा र देवालयहरु संकटमा परेका छन । मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोप भइसकेका छन भने भगवानका मूर्तिहरु समेत बेचिएका छन । गुठीकै जग्गामा बसेको जनकपुर गुठीलाई आफ्नै जग्गा जोगाउन गाह्रो छ ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरमा भएको तथ्यांकअनुसार साविकमा धनुषा जिल्लाका विभिन्न मठमन्दिरको साविकको जग्गा ५ हजार ८ सय ३५ बिघा १० कठ्ठा १९ धुर थियो । २०२१ सालमा भएको पहिलो नापीमा जग्गा तीन प्रकारले विभाजित गरिए । त्यसअनुसार जिल्लाभरि अधीनस्थ, तैनाथी र रैतान नम्बरी जग्गा गरी जम्मा ६ हजार १ सय २९ बिघा २ कठ्ठा १० धुर २ कनमा छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले गुठी, कुट्टी, मठमन्दिर, मस्जिद, पोखरीलगायतका सार्वजनिक जग्गा/स्मारकको विवरण पठाउन मालपोत, नापी र गुठी संस्थान कार्यालय तथा यहाँका १८ वटै स्थानीय तहलाई पत्राचार समेत गरिसकेको छ । गुठी अधीनस्थ भनेको साविकदेखि नै मोहीमा लागेको जग्गा हो भने, तैनाथी जग्गा गुठी संस्थानकै कार्यालयको स्वामित्वमा पर्छ । रैतानी नम्बरी भनेको जग्गा धनीकै व्यक्ति विशेष भएको जग्गालाई भनिन्छ ।

गुठीकै तथ्यांकलाई आधार मान्ने हो भने साविकमा रहेका जग्गा नापीमा झण्डै २ सय ९४ बिघाभन्दा बढी बढेको छ । २०४४ देखि २०५१ सालभन्दा पहिले मठमन्दिरबाट मनखपमा प्राप्त गरेको जग्गामा घर बनाई बसेको र सहरी नापीको नक्सामा पनि पक्की वा फुसको घर देखिएका लागि गुठी संस्था ऐन २०३३ को संशोधनसहितको दफा २५(३) मा २०४६ साल चैत २६ गतेभन्दा पूर्व गुठीको जग्गामा घर बनाई बसेका व्यक्तिलाई सो जग्गा रेकर्डमा परिणत गर्ने प्रावधान रहेको अनुसार लालपुर्जा दिइएको थियो ।

यस ऐनबमोजिम जिल्लाका गुठी जग्गाहरूमध्ये ३ हजार ६ सय ७३ बिग्घा १० कठ्ठा ४ धुर २ कनमा व्यक्तिको नाममा रैतान नम्बरी भयो । जिल्लामा रहेका मठ मन्दिरहरूको २ हजार ४ सय ५६ बिघाभन्दा बढी जग्गाको संरक्षण गुठी संस्थान र स्थानीय प्रशासनले गर्नुपर्ने दायित्व छ । तर, संस्थानका कर्मचारी, मठ मन्दिरका पुजारी तथा महन्थ, प्रशासन, सुरक्षाकर्मी र राजनीतिक दलका नेता तथा भूमाफियाको संलग्नतामा जिल्लाभरिमा अर्बौं मूल्यका सयौं बिघा जग्गा गायब भइसकेको छ । गुठी संस्थान शाखा कार्यालय जनकपुरका अनुसार हालसम्म ३० बिघा ७ कठ्ठा १८ धुर जग्गा अतिक्रमण भएको छ ।

तर, मन्दिरपिच्छे ठहरिएका बस्ती, लाग्ने गरेको बजार, बस पार्क, राजनीतिक दलदेखि विभिन्न संघसंस्थाका कार्यालयले मनमौजी जग्गा हडपेका र किनबेच समेत गरिरहेका छन् । पुरातात्विक सम्पदा, मठमन्दिर, सार्वजनिक सम्पत्ति, धार्मिकस्थलको संरक्षण गर्ने जिम्मा सबैको रहेको देखिएको छ । गुठीको जग्गा अतिक्रमण गरेर अहिले यहाँ ठूलठुला पक्की संरचना बनिसकेका छन् भने अतिक्रमणले गुठीको जग्गा त घट्यो–घट्यो, मठमन्दिरहरुको अस्तित्वमाथि समेत प्रश्नचिन्ह उठेको छ ।

संस्थानले नियुक्त गरेका मठमन्दिरका महन्थ, पुजारी नै जग्गा खरिदबिक्रीमा लागेका छन् । गुठी संस्थानको जग्गाको हकमा रक्षक नै भक्षक भएको देखिन्छ । सांस्कृतिक सम्पदाको संरक्षणका लागि काम गर्दै आएका जनकपुरका स्थानीय युवा राकेश विक्रम साह भन्छन, ‘यहाँ माफियाको राज छ । मन्दिरदेखि संस्थासम्म सबैमा ब्रह्मलुट मच्चिएको छ । राजनीतिक खोल ओढेर मठमन्दिरको जग्गा भूमाफियाले अपचलन गरेको साहले बताए ।

राजदेवी मठको २७ बिघा ९ धुर जग्गामध्ये ९ बिघा ९ धुर जग्गा अतिक्रमण भइसकेको छ । ५ वर्षअघि गिरी महन्थको जिम्मेवारीमा आएपछि उनले जग्गा खोज्न थालेका छन । पहिलाका पुजारी र स्थानीय राजनीतिक दलका नेताले मठको जग्गा अतिक्रमण गराएपछि अहिले बस्ती नै बसेको छ ।

गुठीका जग्गा ठेक्कामा

जनकपुरधामका गुठी अधिनस्त अधिकांश जग्गाहरु ठेक्कामा लगाइएको छ । एकातर्फ जिल्लाभरिमा अर्बौं मूल्यका सयौं बिघा जग्गा गायब भइसकेका छन् भने अर्कोतर्फ हालसम्म ३० बिगहा ७ कठ्ठा १८ धुर जग्गा अतिक्रमण भईसकेका छन् । त्यस्तै, अधिकांश जग्गाहरु ठेक्कामा समेत लगाइएको देखिन्छ । जसको कुनै लेखाजोखा नै छैन् ।

जनकपुरधाम–२३ बेलाकुट्टीस्थित श्री रामजानकी दुल्हा दुल्ही भगवान मन्दिरको कित्ता नम्बर ३०९ मध्ये १ बिग्हा ११ कठ्ठा १० धुर जग्गा ५ बर्षका लागि विश्व भारती फाउण्डेशन, सोही कित्ता मध्येबाट ५ बिग्हा १० कठ्ठा ३८ वर्षका लागि गजेन्द्र नारायण स्मृति प्रतिष्ठान र ४ बिग्हा जनकपुर अञ्चल बस व्यवसायी संघलाई २०८० पुस मसान्तसम्मका लागि ठेक्कामा दिइएको देखिन्छ ।

त्यस्तै, जानकी मन्दिर अधिनस्त रहेको जनकपुरधाम–१८ स्थित भोयल मठको जग्गाबाट ३२ बिग्हा १० कठ्ठा १६ धुर २० वर्षका लागि जनकपुरधाम उपमहानगरपालिकाले, जनकपुरधाम–३ स्थित लक्ष्मण मन्दिरको वडा नम्बर–१४ स्थित विभिन्न कित्ताको क्षेत्रफलबाट १६ बिग्हा १७ कठ्ठा १९ धुर १ कनमा ३० वर्षका लागि राष्ट्रिय खेलकुद परिषद्ले, राम मन्दिर अधिनस्त जनकपुरधाम–४ स्थित कित्ता नम्बर ३६ को ५ कठ्ठा ३ धुरमध्ये १० धुर २५ वर्षका लागि नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति धनुषाले, रत्नसागर गुठीको जनकपुरधाम–१४ स्थित विभिन्न कित्ता नम्बरको १६ बिग्हा १७ कठ्ठा १९ धुर ४९ वर्षका लागि मणिपाल एजुकेशन मेडिकल ग्रुपले ठेक्कामा लिएको देखिन्छ ।

राम मन्दिर गुठीको जनकपुरधाम–४ स्थित कित्ता नम्बर १ मध्ये दक्षिणतर्फबाट २ कठ्ठा ५ धुर १० वर्षका लागि मिथिला नाट्यकला परिषद्लाई, राम मन्दिर गुठीको जनकपुरधाम–४ स्थित कित्ता नम्बर ४११ मध्येबाट ४ कठ्ठा १९ धुर ४ कनमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई, राम मन्दिर गुठीको जनकपुरधाम–८ स्थित कित्ता नम्बर ४९ को १३ कठ्ठा १२ धुर २ कनमा जग्गाबाट ४ कठ्ठा रामनारायण मिश्र चिन्तन प्रतिष्ठानलाई, बसही कुट्टीको जनकपुरधाम–८ स्थित कित्ता नम्बर ३१८ मध्येबाट ६ बिग्हा ३ कठ्ठा १५ धुर जनक हजारी विद्यापिठलाई, राम मन्दिरको जनकपुरधाम–४ स्थित कित्ता नम्बर ९५ को १ कठ्ठा १९ धुर १ कनमा मध्ये उत्तर पूर्वतर्फबाट १५ धुर जग्गा २०७३ चैत ६ गते भएको सम्झौताबमोजिम निर्माण गर्ने र द्धितिय पक्षले ५ वर्षभित्र संग्रहालय निर्माण गरी प्रथम पक्षलाई हस्तान्तरण गर्ने सर्तमा मिथिला कला तथा संस्कृति संग्रहालय निर्माणका लागि प्रदान गरिएको थियो ।

त्यस्तै, जानकी मन्दिरको जनकपुरधाम–८ स्थित कित्ता नम्बर ५८ को ७ कठ्ठा मध्ये ५ कठ्ठा ५ धुर १० वर्षका लागि राजर्षि जनक पतञ्जली योग साधना केन्द्रलाई, राम मन्दिरको जनकपुरधाम–४ स्थित ८ कठ्ठा २ धुर २० वर्षका लागि राजर्षि जनक क्याम्पसलाई, जानकी मन्दिरको जनकपुरधाम–६ स्थित १४ कठ्ठा २ धुर ३ कनमा मध्ये दक्षिणतर्फबाट ५ कठ्ठा १६ धुर १५ कनमा २५ वर्षका लागि राधामाधव समितिलाई ठेक्का दिइएको छ ।

व्यक्ति विशेषलाई पनि ठेक्का

गुठीका बिग्हौं जग्गाहरु व्यक्ति विशेषलाई पनि ठेक्कामा दिइएको देखिन्छ । इटहर्वा मठको इटहर्वा–३ स्थित कित्ता नम्बर १६३ को ७ बिग्हा १२ कठ्ठा १४ धुर ८ कनमा जग्गा १० वर्षका लागि सोही ठाउँ बस्ने कृष्णा कुमार चौधरी, जानकी मन्दिरको जनकपुरधाम–११ स्थित कित्ता नम्बर २१ बाट १२ धुर १५ वर्षका लागि विश्वनाथ मिश्र भन्ने सियाराम दास, राम मन्दिर अधिनस्त रहेको सखुवा, हरकरवा, हात्तीसार, जलाडी निकास विर्ता, औराहा दिगम्बरपुरको विभिन्न कित्ताबाट १४८ बिग्हा जग्गा २०७३ कातिक ११ देखि लागु हुनेगरी २०८३ कातिक १० सम्मका लागि दिगम्बरपुर–२ बस्ने राजेश महतो र राम मन्दिर बिरख कुट्टी अधिनस्त रहेको सुगामधुकरही, चक्कर, पौडेश्वर मौजाको विभिन्न कित्ताबाट १२७ बिग्हा १० कठ्ठा ७ धुर २०७३ मंसिर ५ देखि लागु हुनेगरी २०८३ मंसिर ४ सम्मका लागि सुगानिकास–८ बस्ने बरुण प्रसाद मण्डललाई मनोमानी रुपमा ठेक्का लगाइएको पाइएको छ ।

त्यस्तै, सिता कुण्डको जनकपुरधाम–८ स्थित कित्ता नम्बर १२ को २ बिग्हा २ कठ्ठा १४ धुर ११ कनमा २०७६ असार २४ देखि लागु हुनेगरी ५ वर्षका लागि दिप नारायण साहले सञ्चालन गरेको जनकपुर ड्राइभिङ्ग प्रशिक्षण केन्द्र र सिता कुण्डकै जनकपुरधाम–८ स्थित कित्ता नम्बर ९ को १५ कठ्ठा २ धुर ३ कनमा मध्येबाट १५ कठ्ठा जग्गा २०७६ असार २४ देखि लागु हुनेगरी ५ वर्षका लागि मोहन प्रसाद यादवले सञ्चालन गरेको एपी कन्स्ट्रक्सनलाई लिजमा दिइएको छ ।

केहि नामुद व्यक्तिहरुलाई गुठी संस्थानले जग्गा उपलब्ध गराएको स्पष्ट देखिए पनि हाल ति व्यक्तिहरुले कुन प्रक्रिया अन्तर्गत जग्गा लिएका छन् सो विवरण संस्थानले केहि दिनमै उपलब्ध गराउने आश्वासन दिएकोले बाँकीको खुलासा पनि यथाशीघ्र गरिनेछ ।

डाटा संकलन: युवा अभियन्ता सरोज मिश्रको सहयोगमा