सप्तरी, ०८ कार्तिक । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रमा पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरीमाथि आक्रमण गरेको छ ।

शनिबार साँझ भएको घटनामा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रदीपकुमार बिष्टमाथि आक्रमण भएको सप्तरी प्रहरीले जनाएको छ ।

भारतबाट अवैध रूपमा पटका ल्याउँदै गरेको अवस्थामा बोदेबरसाईन नगरपालिका–३ का रामदुलार यादवलाई प्रहरीले पटाकासहित नियन्त्रणमा लिएपछि उनलाई छुटाउन पुगेको समूहले प्रहरीमाथि आक्रमण गरेको हो ।

प्रहरीका अनुसार यादवको साथबाट करिब एक लाख १७ हजार रुपैयाँ बराबरको पटका बरामद गरिएको छ । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय कडबोनामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीषक रूपक खड्काले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोप लागेका देवकुमार यादवसहित अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न प्रहरी परिचालन गरिएको एसपी खड्काले बताए । उनले घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे ।

रामनगर कोदरकट्टीस्थित प्रहरी चौकीमा तस्करी नियन्त्रणका क्रममा प्रहरीमाथि आक्रमण भएको यो पहिलो घटना भने होइन । यसअघि गत असारमा पनि सोही चौकीका तत्कालीन इन्चार्ज असई रामकुमार यादवमाथि तस्करीको विषयलाई लिएर समूहले कुटपिट गरेको थियो ।

सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण गर्ने क्रममा पटकपटक प्रहरीमाथि आक्रमणका घटना हुनुले सुरक्षा चुनौती थपिएको छ । प्रहरीले पछिल्लो घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई अघि बढाएको जनाएको छ ।