कांग्रेसले सहमहामन्त्री यादवमाथिको आक्रमणको सम्बन्धमा गृहमन्त्री श्रेष्ठसँग माग्यो जवाफ

काठमाडौँ, २१ भदौ । नेपाली कांग्रेसले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग जवाफ माग गरेको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय र शून्य समय लिएर कांग्रेसका सांसदहरुले पार्टीकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्द विरोध गरे ।
महामन्त्री थापाले भने, ‘सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु । या विषयको गहिरो अनुसन्धन भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस् ।’
साथै, महामन्त्री थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराए । महामन्त्री थापाले प्रश्न गरे, ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामीले काठमाडौंम एक्लै हिड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिड्न हुने हो कि नहुने हो ?’
प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँ ठाउँमा ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्दहरु प्रयोग गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘म आग्रह गर्न चाहन्छु । जिम्मा लिएकोले धेरै बोल्ने होइन गर्ने हो ।’
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको अर्को बैठकमा घटनाको सत्यतथ्यसहितको विवरण लिएर आउन आग्रह गरे ।
प्रमुख सचेतक लेखकले भने, ‘म गृहमन्त्रीज्युलाई आग्रह गर्न चाहन्छु, यसपछि बस्ने प्रतिनिधि सभाको बैठकमा यो घटनाको बारेमा सम्पुर्ण विवरण सहितको जानकारी र यसमा भए गरेका सम्पूर्ण कामहरुको विवरण सदनमा प्रस्तुत गर्नुहुनेछ भन्ने नेपाली कांग्रेसको संसदीय दलको तर्फबाट माग गर्न चाहन्छु ।’
पक्राउ परेका दोषी लगायत अरु पनि मानिसहरुको संलग्नता छ भने सत्य तथ्य छानबिन गरी कडा भन्दा कडा कारबाहीका लागि समेत उनले सरकारलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


