काठमाडौँ, १७ भदौ । अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ ।

आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो ।

नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष ओलीसँगको भेटमा शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गरेका थिए । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताए ।

सिनेटरले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राखेको र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्ने बताएको जानकारी दिए ।

भेटमा सिनेटरले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) एमसिसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न सुरु गरेकोमा खुसी लागेको बताएका थिए । उनले सम्झौता कार्यान्वयन गर्न सुरु भएकोमा अमेरिका सकारात्मक रहेको बताएका थिए ।

होलेन गत शुक्रबार नेपाल आएका थिए । होलेन अमेरिकी संसदको विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुन् ।