बारा-२ मा उपेन्द्र यादवको अग्रता, शिवचन्द्रले पछ्याउँदै

जनकपुरधाम, ११ बैशाख । प्रतिनिधिसभाका रिक्त सदस्य चयन गर्न आइतवार तीन जिल्लाका तीन क्षेत्रमा भएको उपनिर्वाचनमध्ये बारा–२ मा पनि मतगणना जारी रहेको छ ।
जिल्लाको निर्वाचन क्षेत्रका ८३ वटै मतदान स्थलमा रहेका १३७ मतदान केन्द्रको मतपेटिका संकलन भएपछि बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको थियो ।
त्यहाँ सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायम राखेका छन् । समाचार तयार पार्दासम्मको विवरणअनुसार उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ४ सय मतले अग्रता कायम राखेका छन् ।
यादवले ३ हजार २१४ मत पाउँदा उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २ हजार ८१३ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका पुरूषोत्तम पौडेल १ हजार ३३५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ६४१ मत पाएका छन् ।
आम जनता पार्टीका अरूण ज्ञवालीले भने २७३ पाएका छन् । मतगणना जारी रहेको छ ।
उपनिर्वाचन भएका तीनवटै क्षेत्रको मतपरिणाम तीन दिनभित्र आइसक्ने निर्वाचन आयोगका अधिकारीहरूले बताउँदै आएका छन् ।
बाराका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार यो क्षेत्रमा गत मंसिरमा ६३.५६ प्रतिशत मत खसेको थियो । यस उपनिर्वाचनमा त्यहाँ त्योभन्दा बढि मत खसेको उनले जानकारी दिए । उपाध्यायले बारामा ६५.०२ प्रतिशत मत खसेको बताए । निर्वाचन कार्यालय बाराका अनुसार उक्त क्षेत्रमा १ लाख ५ हजार २४८ जना मतदाता रहेका छन् ।
बारा–२ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलसहित ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
महागढीमाई नगरपालिकामा पुरुष ११ हजार ९७५ र महिला ९ हजार ७०१ गरी कूल २१ हजार ६७६, करैयामाई गाउँपालिकामा पुरुष ५ हजार ६५५ र महिला ५ हजार ५०१ गरी कूल ११ हजार १५६, कोल्हवी नगरपालिकामा पुरुष ८२९ र महिला ७५२ गरी कूल १ हजार ५८१, देवताल गाउँपालिकामा पुरुष ५ हजार १३२ र महिला ४ हजार २७८ गरी कूल ९ हजार ४१०, सुर्वण गाउँपालिकामा पुरुष ६ हजार ३७० र महिला ५ हजार ९५ जना गरी कूल ११ हजार ४६५ र पचरौता नगरपालिकामा पुरुष ७ हजार १०३ र महिला ६ हजार ४९६ गरी कूल १३ हजार ५९९ जनाले मतदान गरेका थिए ।
बारा–२ मा पुरुष ३७ हजार ६४ र महिला ३१ हजार ८२३ गरी कूल ६८ हजार ८८७ जना अर्थात ६५ प्रतिशतले मतदान गरेका थिए ।
गत ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । यादव उपराष्ट्रपति बनेपछि रिक्त बारा–२ मा उपनिर्वाचन भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


