जनकपुरधाम, २० कार्तिक । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिएको छ ।

नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारै जना मन्त्रीलाई राजीनामा गराएको हो ।

नेकपा संसदीय दलको भर्चुअल बैठकबाट भएको निर्णयअनुसार अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहाले शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष राजीनामा बुझाएका छन् ।

यसअघि नै नेकपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै नेकपाले कार्तिक २० गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएको छ ।

गत असोज ३० गते नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार अल्पमतमा परेको थियो । त्यसपछि प्रदेश सरकारको राजनीतिक भविष्यबारे अन्योल रहँदै आएको थियो ।

निवर्तमान ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहाले सरकार अल्पमतमा परिसकेको अवस्थामा राजनीतिक निकास दिन आफूहरूले राजीनामा दिएको बताए ।

नेकपाले समर्थन फिर्ता लिएसँगै मधेश प्रदेश सरकार थप राजनीतिक संकटमा परेको छ । प्रदेश सरकारलाई अब विश्वासको मत लिन आठ दिन मात्रै बाँकी रहेको छ ।

नेकपा र एमाले दुवै सरकारबाट बाहिरिएपछि मधेश प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणका लागि राजनीतिक दलहरूबीचको छलफल र जोडघटाउ थप तीव्र हुने देखिएको छ । अब मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्छन् वा प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ ।