जनकपुरधाम, २० कार्तिक । जनकपुरधाम उपमहानगरपालिका–४ का वडा सदस्य प्रसन्न झाले वडा कार्यालयमै फोहोर थुपारेर सरसफाइको दयनीय अवस्थाप्रति विरोध जनाएका छन् ।

दीपावली तथा छठजस्ता महत्वपूर्ण पर्व नजिकिँदै गर्दा पनि वडामा सरसफाइ नभएको र पटकपटक ध्यानाकर्षण गराउँदासमेत सम्बन्धित कर्मचारीले बेवास्ता गरेको भन्दै झाले वडा कार्यालय परिसरमै फोहोर थुपारेर विरोध जनाएका हुन् ।

वडा सदस्य झाले वडा कार्यालय आसपास लामो समयदेखि थुप्रिएको फोहोर व्यवस्थापन गर्न सम्बन्धित निकायले चासो नदेखाएपछि बाध्य भएर यस्तो कदम चाल्नुपरेको बताए । उनले वडा कार्यालयको सरसफाइको जिम्मेवारी पाएका कर्मचारी नै आफ्नो जिम्मेवारीप्रति गम्भीर नदेखिएको आरोप लगाए ।

झाका अनुसार वडा सचिवले ६–७ महिनादेखिको अवस्थाबारे आफूलाई जानकारी नभएको बताउने गरेका छन् भने सरसफाइ इन्चार्जले समेत अनभिज्ञता प्रकट गर्दै आएका छन् । जिम्मेवारीमा रहेका कर्मचारीबाटै समस्याबारे अनभिज्ञता देखाइनु दुःखद भएको उनको भनाइ छ ।

वडा कार्यालयमै फोहोर थुपारेर गरिएको विरोधले सरसफाइ व्यवस्थापनमा सम्बन्धित निकायको उदासीनता र कर्मचारीको जवाफदेहितामाथि प्रश्न उठाएको छ ।

जनकपुरधामलाई स्वच्छ र सुन्दर बनाउने जिम्मेवारी भाषणमा मात्र सीमित नराखी जनप्रतिनिधि तथा कर्मचारीले व्यवहारमै निर्वाह गर्नुपर्ने भन्दै झाले सरसफाइलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।