मिर्चैयाबाट १०.३९ ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ
सिरहा, २० कार्तिक । सिरहाको मिर्चैयाबाट प्रहरीले १० ग्रामभन्दा बढी ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–५ का २७ वर्षीय कृष्णकुमार यादव र कल्याणपुर नगरपालिका–४ का २० वर्षीय सुरेन्द्र यादव रहेका छन् ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैया र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
कटारी चोकबाट कटारीतर्फ जाँदै गरेको बा.प्र.०२–००५ प ३७०३ नम्बरको मोटरसाइकललाई प्रहरीले शंका लागेर रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए ।
मोटरसाइकलमा पछाडि सवार रहेका दुवै जनालाई नियन्त्रणमा लिएर जाँच गर्दा कृष्णकुमार यादवको साथबाट प्लास्टिकसहित १३.०७ ग्राम र प्लास्टिकबाहेक १०.३९ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट ४ हजार रुपैयाँ नगद, दुई थान स्क्रिन टच मोबाइल र एक थान डिजिटल तराजुसमेत बरामद गरेको छ ।
बरामद लागुऔषध, नगद, मोबाइल, डिजिटल तराजु र मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान भइरहेको डीएसपी पालले जानकारी दिएका छन् ।
घटनामा संलग्न भई फरार भएका मोटरसाइकल चालकको पहिचान तथा खोजी कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




