जनकपुरधाम, २० कार्तिक । मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले दलित समुदायले निर्वाचनका बेला आफ्नो मत बेच्ने गरेको भन्ने आरोप गलत र भ्रामक रहेको बताएका छन् ।

उनले यस्तो आरोपले दलित समुदायप्रति समाजमा विद्यमान पूर्वाग्रह र विभेदलाई थप प्रश्रय दिने टिप्पणी गरेका हुन् ।

मधेशका आठवटै जिल्लाबाट सहभागी दलित अगुवा तथा अभियन्ताहरूको उपस्थितिमा आयोजित भूमि संवाद कार्यक्रममा बोल्दै सभामुख यादवले निर्वाचनमा आर्थिक तथा सामाजिक रूपमा सम्पन्न वर्गका व्यक्तिहरूले नै आफ्नो मत बेच्ने गरेको दाबी गरे ।

दलित समुदायलाई निर्वाचनका बेला आर्थिक प्रलोभनमा पर्ने र आफ्नो मत बेच्ने समुदायका रूपमा चित्रण गर्नु वास्तविकताभन्दा टाढाको भाष्य भएको उनको भनाइ थियो । समाजमा दलित समुदायबारे निर्माण गरिएका यस्ता नकारात्मक धारणाको अन्त्य हुनुपर्ने उनले बताए ।

सभामुख यादवले दलित समुदाय आफ्ना अधिकार र हकहितबारे जानकार छैनन् भन्ने बुझाइसमेत गलत रहेको उल्लेख गरे । दलित समुदायले अधिकार नबुझेका नभई उनीहरूलाई अधिकारबारे जानकार र शिक्षित बन्ने पर्याप्त अवसरबाट वञ्चित गरिएको उनको तर्क थियो ।

दलित समुदायको कमजोर शैक्षिक अवस्थाको जिम्मेवारी उनीहरू स्वयंमाथि थोपर्न नमिल्ने भन्दै उनले राज्यको नेतृत्व र जिम्मेवार पदमा पुगेका व्यक्तिहरू पनि यसका लागि उत्तिकै जिम्मेवार रहेको टिप्पणी गरे ।

दलित समुदायलाई शिक्षाबाट टाढा राख्ने तथा उनीहरूको शैक्षिक र सामाजिक अवस्था सुधारका लागि प्रभावकारी पहल नगर्ने प्रवृत्ति नेतृत्व तहबाटै देखिएको उनको आरोप थियो ।

सभामुख यादवले दलित समुदायको वास्तविक अवस्था परिवर्तन गर्न शिक्षा, अधिकार र सामाजिक अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

समाजमा जरा गाडेर बसेको जातीय विभेद, असमानता र पूर्वाग्रह अन्त्यका लागि राज्यका जिम्मेवार निकाय तथा नेतृत्व तहबाटै इमानदार पहल हुनुपर्ने उनको भनाइ थियो ।

उनले दलित समुदायलाई हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन गर्दै उनीहरूको सम्मान, समानता र अधिकार सुनिश्चित गर्न सके मात्रै समतामूलक समाज निर्माण सम्भव हुने धारणा राखे ।