धनतेरसले चम्कियो जनकपुरधामको सुनचाँदी बजार
जनकपुरधाम, २० कार्तिक । दीपावलीको पूर्वसन्ध्यामा मनाइने धनतेरस पर्वका अवसरमा जनकपुरधामको सुनचाँदी बजारमा ग्राहकको चहलपहल बढेको छ ।
धनतेरसमा सुनचाँदीका गरगहना तथा धातुका भाँडाकुँडा खरिद गर्दा शुभ र समृद्धि प्राप्त हुने धार्मिक विश्वासका कारण बजारमा किनमेल गर्नेहरूको भीड लागेको हो ।
धनतेरसलाई नयाँ सामग्री खरिद गर्ने विशेष दिनका रूपमा लिने परम्पराअनुसार सर्वसाधारण सुनचाँदीका गरगहना, सिक्का तथा विभिन्न भाँडाकुँडा किन्न बजार पुगिरहेका छन् । दीपावलीलाई लक्षित गरी गरिने किनमेलले सुनचाँदी पसलहरूमा रौनक थपेको छ ।

हिन्दू धर्मावलम्बीहरूमा धनतेरसका दिन सुन, चाँदी, तामा तथा पित्तललगायतका धातुबाट बनेका सामग्री खरिद गर्दा घरमा सुख, शान्ति र समृद्धि भित्रिने धार्मिक मान्यता रहिआएको छ ।
धनतेरसको अवसरमा जनकपुरधामका सुनचाँदी पसलहरूमा देखिएको ग्राहकको भीडले चाडपर्वको उत्साहलाई थप बढाएको छ ।
शुक्रबार बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भएर शनिबार बिहान १० बजेर ४७ मिनटसम्म रहने छ । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ ।

दीपावली नजिकिँदै गर्दा बजारमा किनमेलको चहलपहल अझै बढ्ने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




