जनकपुरधाम, २० कार्तिक । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका १० जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत बिहीबार प्रहरीले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट खोजतलास गरी पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये पाँच जना कुटपिट मुद्दाका प्रतिवादी रहेका छन् । उनीहरू प्रत्येकलाई अदालतले जनही १ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

त्यस्तै, औषधसम्बन्धी मुद्दामा एक जनालाई १ महिना १५ दिन कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना, लागुऔषध मुद्दामा एक जनालाई २ हजार रुपैयाँ जरिवाना तथा वन पैदावारसम्बन्धी मुद्दामा तीन जनालाई जनही ७ हजार ६१० रुपैयाँ जरिवानाको फैसला भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले खोजतलास र आवश्यक समन्वय गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाही तथा अदालतको फैसला कार्यान्वयनका लागि धनुषा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक अरविन्द कुमार साहले जानकारी दिए ।

प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका अन्य प्रतिवादीहरूको समेत खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ ।