अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीको छापा
पर्सा, २० कार्तिक । पर्साको वीरगञ्ज महानगरपालिका–१५ भीष्वाडाँडा नजिक अवैध रूपमा सञ्चालन हुँदै आएको घरेलु मदिरा उत्पादन गर्ने भट्टी प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मिना मोक्तानले सञ्चालन गरेको भट्टीमा छापा मारेर मदिरा उत्पादनमा प्रयोग हुने १ हजार ३०० लिटर कच्चा पदार्थ र ३५० लिटर तयारी घरेलु मदिरा बरामद गरेको हो ।
अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले भट्टीमा छापा मारेको थियो । सो क्रममा भट्टी भत्काउनुका साथै त्यहाँ रहेका कच्चा पदार्थ र तयारी मदिरा नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्याइएको र पछि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले मापदण्डविपरीत विभिन्न रासायनिक पदार्थ प्रयोग गरी उत्पादन गरिने घरेलु मदिराले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने बताए ।
उनले अवैध रूपमा मदिरा उत्पादन, बिक्री वितरण तथा ओसारपसार गर्नु गैरजिम्मेवार गतिविधि भएको उल्लेख गर्दै यस्ता कार्यमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
साथै, जिल्लामा अवैध मदिरा उत्पादन तथा कारोबार भइरहेको जानकारी प्राप्त भए नजिकको प्रहरी कार्यालयमा सूचना दिन प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




