जनकपुरधाम, १६ कार्तिक । मिथिलाको मौलिक कला, संस्कृति र पहिचान झल्काउने मिथिला चित्रकलाको संरक्षण तथा प्रवद्र्धनका लागि विभिन्न अभियान सञ्चालन भइरहे पनि जनकपुरधाममा यसको संरक्षणप्रति बेवास्ता देखिन थालेको छ ।

जनकपुरधामस्थित अंगराजसर पोखरी अगाडि जानकी प्रहरी चौकीसँगैको पर्खालमा बनाइएका आकर्षक मिथिला चित्रकलाको अवस्था अहिले उपेक्षित देखिएको हो ।

पर्खालमा मिथिलाको लोकजीवन, प्रकृति, धार्मिक आस्था तथा सांस्कृतिक परम्परा झल्काउने चित्रहरू बनाइएका छन् । तर, ती चित्रकलाको अगाडि लामो समयदेखि ठेलाहरू राखिँदा चित्रकलाको सौन्दर्य छोपिनुका साथै सार्वजनिक स्थलको दृश्यसमेत अव्यवस्थित बनेको देखिन्छ ।

वरिष्ठ मिथिला चित्रकार विजयदत्त मणि भन्छन्, ‘मिथिला चित्रकला जनकपुरधामको सांस्कृतिक पहिचान र पर्यटकीय आकर्षणको महत्वपूर्ण हिस्सा हो । यही पहिचानलाई जीवन्त राख्न सार्वजनिक स्थलका पर्खालहरूमा स्थानीय कला र संस्कृति झल्किने चित्रहरू बनाइए पनि तिनको संरक्षण, सरसफाइ र व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान पुगेको देखिँदैन ।’

अर्का चित्रकार सुनैना ठाकुर भन्छिन्, ‘एकातिर मिथिला चित्रकलालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयास भइरहेको छ भने अर्कोतिर आफ्नै शहरमा बनाइएका चित्रकलाको अगाडि ठेला राखेर तिनको सौन्दर्य ओझेलमा पारिएको छ । यसले कला संरक्षणका नाममा गरिने प्रयास र व्यवहारबीचको अन्तरसमेत स्पष्ट देखिएको छ ।’

ठेला व्यवसायीहरूको जीविकोपार्जनलाई असर नपर्ने गरी वैकल्पिक व्यवस्थापन गर्नु आवश्यक छ । तर, सार्वजनिक स्थल, पैदलयात्रीको आवागमन र शहरको सांस्कृतिक सौन्दर्यलाई समेत ध्यानमा राख्दै सम्बन्धित निकायले ठेलाको उचित व्यवस्थापन तथा मिथिला चित्रकलाको संरक्षणमा पहल गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

मिथिला चित्रकला पर्खाल सजाउने माध्यम मात्र नभई यो मिथिलाको इतिहास, संस्कृति र पहिचानको जीवन्त अभिव्यक्ति पनि हो । त्यसैले यसको संरक्षण नारामा मात्र नभई व्यवहारमै देखिन आवश्यक रहेको स्थानीय सुशील कर्ण बताउँछन् ।