महोत्तरी, १६ कार्तिक । धानबालीको कटानीपछि हुने नोक्सानी कम गर्दै उत्पादनको गुणस्तर कायम राख्न तथा कृषकको आम्दानी बढाउने उद्देश्यले महोत्तरीको भङ्गाहा नगरपालिकामा धानको उन्नत कटानी तथा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ ।

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हार्दिनाथको आयोजनामा सञ्चालन गरिएको तालिममा स्थानीय कृषक समुदायका ५५ जनाको सहभागिता रहेको थियो ।

तालिममा धानको उचित समयमा कटानी गर्ने, प्रभावकारी रूपमा दाइँ गर्ने, वैज्ञानिक तरिकाले सुकाउने, सुरक्षित भण्डारण गर्ने तथा प्रशोधनका क्रममा अपनाउनुपर्ने सावधानीबारे कृषकलाई प्राविधिक जानकारी दिइएको थियो ।

कार्यक्रमको अध्यक्षता गरेकी राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हार्दिनाथकी वरिष्ठ वैज्ञानिक डा. पल्लवी सिंहले KOPIA परियोजनामार्फत कृषि प्रविधिको विकास र हस्तान्तरण गरी कृषिको उत्पादकत्व तथा उत्पादनको गुणस्तर वृद्धि गर्ने लक्ष्य राखिएको बताइन् ।

उनले उन्नत धानका जातको प्रवर्द्धन, कृषकको सहभागितामा जात छनोट, प्रदर्शन तथा प्राविधिक सहयोगमार्फत स्थानीय कृषकलाई लाभान्वित गर्ने प्रयास भइरहेको जानकारी दिइन् ।

कार्यक्रममा रवीन्द्र प्रसाद साहले धानको कटानीपछिको क्षति न्यूनीकरणका उपायबारे सहजीकरण गर्दै उचित समयमा कटानी, प्रभावकारी दाइँ, सुकाइ तथा सुरक्षित भण्डारणको महत्त्वबारे जानकारी गराए । कार्यक्रमको सहजीकरण सिद्धार्थ सापकोटाले गरे ।

तालिमका क्रममा कृषकहरूले धान खेतीमा कृषि यन्त्र तथा उपकरणको सहज उपलब्धता नहुँदा कटानी र दाइँमा समस्या भइरहेको गुनासो गरेका थिए ।

उनीहरूले KOPIA परियोजनामार्फत प्राप्त उन्नत धानको बीउ तथा प्राविधिक सहयोगले खेती व्यवस्थापनमा सहजता आएको भन्दै खुसीसमेत व्यक्त गरेका थिए ।

यसैबीच, कृषकहरूले विशेषगरी चैते धान सुकाउन ग्रेन ड्रायर, सुरक्षित भण्डारण गृह तथा व्यवस्थित दाइँस्थल (थ्रेसिङ फ्लोर) को व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

प्रतिकूल मौसमका कारण धान सुकाउन कठिनाइ हुने गरेको उल्लेख गर्दै उनीहरूले आवश्यक पूर्वाधार उपलब्ध भए उत्पादनको गुणस्तर जोगाउन र नोक्सानी घटाउन मद्दत पुग्ने बताएका थिए ।

कृषकका समस्या, अनुभव र सुझावलाई आगामी कार्यक्रमको आधार बनाउँदै अनुसन्धान निकाय, स्थानीय तह तथा विकास साझेदारबीच सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता पनि कार्यक्रममा औँल्याइएको थियो ।