जनकपुरधाम, १६ कार्तिक । नेपाल रेलवे बोर्डले रेल सेवा सञ्चालनका लागि नेपाली रेल चालक (लोको पाइलट) को सूचीकरण प्रक्रिया अघि बढाएको छ ।

बोर्डले दक्ष, योग्य तथा अनुभवी नेपाली नागरिकलाई सूचीकरणका लागि आवेदन दिन आह्वान गरेको हो ।

बोर्डले सोमबार सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकलाई ३५ दिनभित्र आवेदन पेस गर्न आग्रह गरेको छ । आवेदन दिने अन्तिम २०८३ मंसिर २१ गते तोकिएको छ ।

सूचनाअनुसार सूचीकरणमा सहभागी हुन चाहने आवेदकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यताप्राप्त संस्थाबाट जारी रेल चालकको लाइसेन्स तथा कार्यअनुभव र तालिमसम्बन्धी प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित नेपाल रेलवे बोर्डको केन्द्रीय कार्यालयमा आवेदन बुझाउन सक्नेछन् । आवेदन तथा सूचीकरण प्रक्रियासम्बन्धी थप जानकारीका लागि बोर्डले सूचनामा उल्लेख गरेको इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।

नेपालमा रेल सेवा विस्तार तथा सञ्चालनलाई व्यवस्थित बनाउन दक्ष प्राविधिक जनशक्तिको आवश्यकता भइरहेका बेला बोर्डले नेपाली रेल चालकको सूचीकरण प्रक्रिया अघि बढाएको हो ।