जनकपुरधाम, १६ कार्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखा जनकपुरधामस्थित रक्त सञ्चार केन्द्रमा सोमबारसम्म विभिन्न रक्त समूहका ७० युनिट होल ब्लड मौज्दात रहेको छ ।

रेडक्रस धनुषाले सोमबार सार्वजनिक गरेको रक्त भण्डार विवरणअनुसार सबैभन्दा बढी बी पोजेटिभ (B+) ३६ युनिट र ए पोजेटिभ (A+) २० युनिट रगत मौज्दात रहेको छ ।

त्यस्तै, एबी पोजेटिभ (AB+) ६ युनिट, ओ पोजेटिभ (O+) ३ युनिट, ए नेगेटिभ (A-) ३ युनिट, ओ नेगेटिभ (O-) एक युनिट र एबी नेगेटिभ (AB-) एक युनिट रगत मौज्दात रहेको छ ।

त्यसैगरी, रक्त सञ्चार केन्द्रमा प्याक्ड रेड ब्लड सेल (PRBC) अन्तर्गत ए पोजेटिभका ५ र बी पोजेटिभका ५ गरी जम्मा १० युनिट मौज्दात रहेको रेडक्रसले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति पंकजकुमार महतोले रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्ने भएकाले रक्तदानलाई नियमित सामाजिक सेवाका रूपमा विकास गर्नुपर्ने बताए ।

उनले रगतको अभाव हुन नदिन स्वस्थ व्यक्तिहरूलाई स्वेच्छिक रक्तदानमा सहभागी हुन आग्रह गर्दै एक युनिट रगतले कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

सभापति महतोले दुर्लभ रक्त समूहका बिरामीलाई आवश्यक परेको समयमा रगत उपलब्ध गराउन नियमित रक्तदान र रक्तदाताको सक्रियता आवश्यक रहेको बताए ।