६ महिनाभित्र जानकी आँखा अस्पतालको मुहार फेर्ने सांसद झाको प्रतिबद्धता
जनकपुरधाम, ०७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरधामस्थित जानकी आँखा अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापनमा सुधार गरी आगामी ६ महिनाभित्र देखिने परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अस्पतालको स्थलगत निरीक्षणपछि सांसद झाले अस्पतालको भौतिक संरचनाको स्तरोन्नति, जनशक्ति व्यवस्थापन तथा आर्थिक सुशासनलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढाइने बताएका हुन् ।
जनकपुरधामको पहिचानसँग जोडिएको जानकी आँखा अस्पतालमा पर्याप्त भौतिक संरचना र आर्थिक स्रोत उपलब्ध भए पनि तिनको प्रभावकारी उपयोग हुन नसकेको उनको भनाइ छ ।
उपलब्ध स्रोतसाधनको उचित व्यवस्थापन र सदुपयोग गर्न सके अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकिने उनले बताए ।
सांसद झाले अस्पतालको कोषमा करिब २२ करोड रुपैयाँ रहेको उल्लेख गर्दै उक्त रकमलाई पूर्वाधार विकास, सेवा विस्तार तथा अस्पतालको समग्र स्तरोन्नतिमा उपयोग गर्ने योजना रहेको बताए ।
उनले अस्पतालको विद्यमान अवस्था सुधार गर्न भौतिक संरचनाको विकास मात्रै पर्याप्त नहुने भन्दै जनशक्तिको उचित परिचालन, व्यवस्थापकीय दक्षता र आर्थिक पारदर्शितामा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न जिल्लाका बिरामीका लागि महत्त्वपूर्ण स्वास्थ्य संस्थाका रूपमा रहेको जानकी आँखा अस्पतालको सेवा व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यसहित सुधारका काम अघि बढाइने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




