सप्तरी, ०२ कार्तिक । बडादशैंको महानवमीका अवसरमा सप्तरीका दुई प्रसिद्ध शक्तिपीठमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।

छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी भगवती मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनलाई लक्षित गरी पुष्पवृष्टिको तयारी गरिएको हो ।

छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महाकान्त ठाकुरका अनुसार कार्तिक ३ गते महानवमीका दिन बिहान नेपाली सेनाको हेलिकप्टरबाट मन्दिर परिसरमा रहेका दर्शनार्थीमाथि पुष्पवृष्टि गरिनेछ ।

यसैगरी, हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा पनि सोही दिन पुष्पवृष्टि गरिने नगर प्रमुख वीरेन्द्र माझीले जानकारी दिएका छन् ।

उनका अनुसार महानवमीका अवसरमा बिहान १० बजेदेखि महासंकल्प पूजाको आयोजना गरिनेछ । सोही पूजाका क्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने कार्यक्रम तय गरिएको छ ।

पुष्पवृष्टिका लागि हेलिकप्टर उपलब्ध गराइदिन नगरपालिकाले गत असोज २३ गते प्रधानसेनापतिलाई औपचारिक पत्र पठाएको थियो । पुष्पवृष्टिका लागि आवश्यक फूलको व्यवस्थापन नगरपालिकाले नै गर्ने नगर प्रमुख माझीले बताए ।

महानवमीका दिन सप्तरीका यी दुवै शक्तिपीठमा ठूलो संख्यामा श्रद्धालु भक्तजन पुग्ने गरेका छन् ।

धार्मिक आस्था र शक्तिपीठको महत्त्वसँग जोडिएको पुष्पवृष्टि कार्यक्रमले दर्शनार्थीमा उत्साह थप्ने विश्वास गरिएको छ ।