जानकीको जन्मभूमिमा सांस्कृतिक विचलन बढेको भन्दै चौधरीको चिन्ता
जनकपुरधाम, ०२ कार्तिक । मिथिलाको सांस्कृतिक पहिचान र धार्मिक गरिमासँग जोडिएको जनकपुरधाममा सांस्कृतिक कार्यक्रमका नाममा अश्लील नृत्य प्रस्तुत भइरहेको भन्दै मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले आपत्ति जनाएका छन् ।
उनले चाडपर्वका अवसरमा आयोजना गरिने मनोरञ्जनात्मक कार्यक्रमहरूमा स्थानीय संस्कृति, भाषा र धार्मिक आस्थाको सम्मान गर्न आयोजक तथा सम्बन्धित निकायसँग आग्रह गरेका हुन् ।
माता जानकीको जन्मभूमि तथा मिथिलाको सांस्कृतिक राजधानीका रूपमा परिचित जनकपुरधाममा भोजपुरी, हिन्दी र मैथिली गीतमा प्रस्तुत गरिने अश्लील नृत्यले आफूलाई दुःखी बनाएको अध्यक्ष चौधरीको भनाइ छ ।
जनकपुरधाम एउटा शहर मात्र नभई मिथिलाको आत्मा, मैथिली भाषाको पहिचान र करोडौँ श्रद्धालुको आस्थासँग जोडिएको पवित्र धार्मिक स्थल भएको उनले उल्लेख गरेका छन् ।
चाडपर्वको समयमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा रहे पनि मनोरञ्जनका नाममा प्रस्तुत गरिने सामग्रीले समाजको सांस्कृतिक मूल्य र मान्यतामाथि कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने चौधरीको धारणा छ ।
सांस्कृतिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
अध्यक्ष चौधरीले सांस्कृतिक कार्यक्रमका आयोजक, प्रदेश तथा स्थानीय सरकार, जनप्रतिनिधि, प्रशासन, सांस्कृतिक संस्था, बुद्धिजीवी र आम नागरिकलाई मिथिलाको मौलिक पहिचान संरक्षणका लागि जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
उनले पुर्खाले हस्तान्तरण गरेको सांस्कृतिक सम्पदा र परम्परालाई कुन दिशामा लैजाने भन्ने विषयमा सबै पक्षले आत्मसमीक्षा गर्नुपर्ने बताए ।
मिथिलाको संस्कृति गीत, नृत्य र मनोरञ्जनमा मात्र सीमित नभई भाषा, साहित्य, लोकपरम्परा, धार्मिक आस्था र सामाजिक मूल्यसँग जोडिएको चौधरीको भनाइ छ । त्यसैले चाडपर्वका अवसरमा आयोजना गरिने कार्यक्रमहरूमा स्थानीय लोककला, परम्परागत नृत्य, मैथिली गीतसंगीत र सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
जनकपुरधामको धार्मिक तथा सांस्कृतिक गरिमा कायम राख्न आयोजक र नियमनकारी निकायबीच समन्वय आवश्यक रहेको उनको धारणा छ ।
मनोरञ्जन र सांस्कृतिक स्वतन्त्रताको सम्मान गर्दै सार्वजनिक कार्यक्रमलाई मर्यादित, सभ्य र स्थानीय पहिचानअनुकूल बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
चाडपर्वले समाजमा आपसी सद्भाव, धार्मिक आस्था र सांस्कृतिक एकता अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्दै चौधरीले मिथिलाको संस्कृति, मैथिली भाषाको सम्मान र जनकपुरधामको धार्मिक प्रतिष्ठा संरक्षण गर्न सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



