पर्सा, ०२ कार्तिक । पर्सा प्रहरीले असोज महिनामा अपराध नियन्त्रण तथा अवैध कारोबारविरुद्ध सञ्चालन गरेको अभियानका क्रममा लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ । प्रहरीले भन्सार छली गरी ल्याइएका ७५ लाख ४४ हजार रुपैयाँभन्दा बढी मूल्यका सामानसमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असोज महिनामा जिल्लाभरि विभिन्न प्रकृतिका १११ वटा अपराधका घटना दर्ता भएका छन् । तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीका नौ, ज्यानसम्बन्धी आठ, महिला तथा बालबालिकासम्बन्धी छ र आत्महत्यासम्बन्धी चार घटना छन् । यसैगरी सवारी ज्यानका दुई र अन्य प्रकृतिका चार घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सो अवधिमा चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयन अभियानअन्तर्गत थप १०३ जना पक्राउ परेका छन् । पक्राउ परेका फरार प्रतिवादीबाट ४० वर्ष ११ महिना १२ दिन कैद भुक्तान गराउनुपर्ने तथा २ करोड ७१ लाख १२ हजार ४४२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

पर्साका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार असोज महिनामा लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा संलग्न रहेको आरोपमा २४ जनालाई पक्राउ गरी उनीहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको छ ।

यसैगरी, भन्सार छली गरी ल्याइएका अनुमानित ७५ लाख ४४ हजार ४९ रुपैयाँ बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । अवैध हातहतियार नियन्त्रण अभियानका क्रममा पाँच थान हतियार र ६ राउन्ड गोलीसमेत बरामद गरिएको छ ।

अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण गर्ने क्रममा प्रहरीले ४ हजार १७६ लिटर तयारी मदिरा र ६ हजार ६०५ लिटर कच्चा पदार्थ बरामद गरेको छ । यस क्रममा एक जना पक्राउ परेका छन् भने अवैध रूपमा मदिरा उत्पादन गर्न प्रयोग गरिएका दुईवटा भट्टी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रण अभियानअन्तर्गत बालुवा, ढुङ्गा तथा गिट्टी ओसारपसारमा प्रयोग भएका १९ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । ती ट्याक्टरमाथिको कारबाहीबाट ९५ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।

त्यस्तै, अवैध वन पैदावार ओसारपसारमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरी १४ वटा साइकल र ५४ घनफिट काठ बरामद गरिएको छ । उक्त कारबाहीबाट ३ लाख ११ हजार ६०० रुपैयाँ राजस्व तथा जरिवाना प्राप्त भएको प्रहरी निरीक्षक राईले बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी घटनामा प्रहरीले असोज महिनामा ३९ वटा उजुरी प्राप्त गरेको जनाएको छ । प्राप्त उजुरीमध्ये घरेलु हिंसासम्बन्धी ३९ वटै उजुरीमा मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस अवधिमा जिल्लाभरि ४० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । दुर्घटनामा ६१ वटा सवारीसाधन संलग्न रहेको प्रहरीले जनाएको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्दै प्रहरीले असोज महिनामा १६ लाख ३६ हजार ५०० रुपैयाँ जरिवाना असुल गरेको छ । यस क्रममा १ हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, लागुऔषध तथा अवैध कारोबार नियन्त्रण र ट्राफिक नियम कार्यान्वयनलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरेको जनाएको छ ।