‘रगत लिनुअघि परीक्षण गर्नुस्, बिरामीको जीवन जोखिममा नपार्नुस्’
जनकपुरधाम, ०२ कार्तिक । चाडपर्वको समयमा रगतको आवश्यकता पर्ने बिरामीका आफन्तलाई धैर्य गर्न आग्रह गर्दै नेपाल रेडक्रस सोसाइटी धनुषाले क्रस म्याच परीक्षण पूरा भएपछि मात्रै रगत लैजान अनुरोध गरेको छ ।
दशैँ, तिहारलगायतका चाडपर्वका बेला दुर्घटना, आकस्मिक शल्यक्रिया तथा अन्य स्वास्थ्य समस्याका कारण रगतको आवश्यकता पर्न सक्ने भएकाले रक्तसञ्चार सेवामा आउने सेवाग्राहीलाई आवश्यक परीक्षण प्रक्रिया पूरा गर्न सहयोग गरिदिन रेडक्रसले आग्रह गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति पंकजकुमार महतोले बिरामीलाई रगत चढाउनुअघि क्रस म्याच परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने बताए ।
उनले भने, ‘बिरामीका आफन्तले तत्काल रगत लैजान दबाब दिनुभन्दा परीक्षण पूरा हुन आवश्यक समय दिनु महत्त्वपूर्ण हुन्छ ।’
क्रस म्याच परीक्षणले दाताबाट प्राप्त रगत बिरामीलाई दिन मिल्छ वा मिल्दैन भन्ने यकिन गर्न मद्दत गर्छ । परीक्षण नगरी वा परीक्षणको नतिजा नआउँदै रगत चढाउँदा बिरामीमा गम्भीर प्रतिक्रिया देखिन सक्ने र ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले यस प्रक्रियालाई सामान्य रूपमा लिन नहुने महतोको भनाइ छ ।
चाडपर्वका बेला सबैलाई छिटो सेवा चाहिने अवस्था हुन सक्ने उल्लेख गर्दै सभापति महतोले रक्तसञ्चार सेवामा खटिएका कर्मचारीलाई सहयोग गर्न र परीक्षण पूरा नभएसम्म धैर्य गर्न बिरामीका आफन्तसँग आग्रह गरेका छन् ।
रगत उपलब्ध गराउनु मात्रै नभई बिरामीका लागि सुरक्षित र उपयुक्त रगत सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए ।
धनुषा तथा जनकपुरधामका बासिन्दालाई लक्षित गर्दै रेडक्रसले रक्तसञ्चार सेवामा आवश्यक प्रक्रिया पूरा गर्न सहयोग गरिदिन आग्रह गरेको छ ।
बिरामीको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले रगत लिन आउने सेवाग्राही, स्वास्थ्यकर्मी र सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा रेडक्रसले जोड दिएको छ ।
रगतको आवश्यकता पर्दा शीघ्र सेवा महत्त्वपूर्ण भए पनि सुरक्षित रगत सुनिश्चित गर्न आवश्यक परीक्षण पूरा हुनु अझ महत्त्वपूर्ण हुन्छ । त्यसैले क्रस म्याच परीक्षणको नतिजा आएपछि मात्रै सम्बन्धित स्वास्थ्यकर्मीको सल्लाहअनुसार रगत लैजान र प्रयोग गर्न रेडक्रस धनुषाले अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



