–ज्योति झा
जनकपुरधाम, ०२ कार्तिक ।
चाडपर्वका बेला नगद कारोबार बढ्ने समयमा जनकपुरधामका अधिकांश बैंकका स्वचालित नगद मेसिन (एटिएम) सञ्चालनमा नआउँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

दशैँको समयमा किनमेल, यात्रादेखि घरायसी खर्चसम्मका लागि नगद आवश्यक पर्ने भए पनि एटिएम सेवा प्रभावकारी नहुँदा सर्वसाधारण समस्यामा परेका हुन् ।

जनकपुरधामको व्यस्त विद्यापति चोकस्थित एनआइसी एसिया बैंकको एटिएम तथा नेपाल राष्ट्र बैंकसँगै रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एटिएमसमेत निष्क्रिय रहेको पाइएको छ ।

मुख्य बजारमै रहेका एटिएम सञ्चालनमा नहुँदा नगद निकाल्न पुगेका सेवाग्राही निराश भएर फर्किनुपर्ने अवस्था देखिएको छ ।

चाडपर्वको समयमा बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष सेवा लिन कठिन हुने भएकाले धेरै सेवाग्राही एटिएममा निर्भर रहने गर्छन् । तर, आवश्यक परेको समयमा एटिएमबाट पैसा निकाल्न नपाउँदा किनमेल, यातायात र अन्य अत्यावश्यक खर्च व्यवस्थापनमा समस्या हुने गरेको गुनासो छ ।

जनकपुरधाम–४ की पुष्पा झाका अनुसार चाडपर्वका बेला बजारमा किनमेल गर्न नगद आवश्यक पर्ने भए पनि एटिएम नचल्दा विभिन्न ठाउँमा धाउनुपर्ने बाध्यता छ ।

‘चाडपर्वमा पैसा निकाल्नुपर्ने आवश्यकता बढी हुन्छ । तर, एटीएम खोज्दै जाँदा पनि नचल्ने भएपछि समय र श्रम दुवै खेर जान्छ,’ उनले गुनासो गरिन् ।

त्यस्तै, अर्का स्थानीय सुजित पाठकले बैंकहरूले चाडपर्वलाई ध्यानमा राखेर एटिएममा पर्याप्त नगद राख्ने र नियमित सञ्चालनको व्यवस्था गर्नुपर्ने बताए ।

‘बैंक बन्द भए पनि एटिएम सेवा त चल्नुपर्छ । ग्राहकलाई आवश्यक परेको बेला पैसा निकाल्न नपाउनु दुःखद हो,’ उनले भने ।

चाडपर्वका बेला सर्वसाधारणलाई सहज वित्तीय सेवा उपलब्ध गराउनु बैंकहरूको जिम्मेवारी भएको स्थानीयको भनाइ छ ।

एटिएममा नगद अभाव, प्राविधिक समस्या वा अन्य कारणले सेवा अवरुद्ध भएको अवस्थामा तत्काल समाधान गर्नुपर्ने उनीहरूको माग छ ।

डिजिटल भुक्तानीको प्रयोग बढ्दै गए पनि बजारका सबै पसल तथा सेवामा त्यसको सहज सुविधा उपलब्ध नहुँदा नगदको आवश्यकता अझै कायम छ । यस्तो अवस्थामा एटिएम सेवा अवरुद्ध हुँदा सर्वसाधारण प्रत्यक्ष प्रभावित हुने गरेका छन् ।

चाडपर्वमा सेवाग्राहीको चाप र नगदको माग बढ्ने भएकाले बैंकहरूले आफ्ना एटिएमको नियमित अनुगमन, पर्याप्त नगदको व्यवस्था तथा प्राविधिक समस्या तत्काल समाधान गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ ।

सम्बन्धित बैंक र नियामक निकायले यस विषयमा ध्यान नदिए चाडपर्वमा सर्वसाधारणले भोग्नुपर्ने समस्या थप लम्बिन सक्ने उनीहरूको भनाइ छ ।