जनकपुरधाममा यस वर्ष ४५ फिट अग्लो रावणको पुतला जलाइँदै
जनकपुरधाम, ०३ कार्तिक । विजयादशमीको अवसरमा जनकपुरधाममा यस वर्ष पनि रावण वध कार्यक्रम आयोजना हुने भएको छ ।
महावीर युवा कमिटीको आयोजनामा बुधबार साँझ गंगासागर र धनुषसागर पोखरीको डिलमा रावणसहित मेघनाथ र कुम्भकर्णको पुतला दहन गरिने भएको हो ।
करिब एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको रावण वध कार्यक्रमलाई यस वर्ष थप आकर्षक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।
यस वर्ष रावणको ४५ फिट अग्लो पुतला निर्माण गरिएको कार्यक्रम संयोजक आनन्द साहले जानकारी दिए । उनका अनुसार मेघनाथ र कुम्भकर्णको पुतलासमेत निर्माण भइरहेको छ ।
पुतला निर्माणका लागि भारतबाट आएका कलाकारको टोली विगत २० दिनदेखि निरन्तर खटिएको छ । तीनवटै पुतला निर्माणमा अनुमानित साढे तीन लाख रुपैयाँ खर्च भइसकेको संयोजक साहले बताए ।
उनका अनुसार बुधबार साँझ ६ बजेदेखि रावण वध कार्यक्रम सुरु हुनेछ । यस वर्ष राम मन्दिरका महन्थ राम गिरीले रावण वध गर्ने कार्यक्रम तय भएको छ ।
विजयादशमीको अन्तिम दिन आयोजना हुने रावण वध कार्यक्रम जनकपुरधामको प्रमुख आकर्षणमध्ये एक मानिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने यस कार्यक्रममा रावण, मेघनाथ र कुम्भकर्णका पुतला दहन गरिन्छ ।
कार्यक्रम अवलोकन गर्न धनुषासहित मधेशका विभिन्न जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रबाट समेत ठूलो संख्यामा दर्शक आउने गरेका छन् । यस वर्ष पनि विगतका वर्षको तुलनामा बढी दर्शक सहभागी हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
महावीर युवा कमिटीले हरेक वर्ष आयोजना गर्दै आएको यो कार्यक्रमले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई निरन्तरता दिनुका साथै जनकपुरधामको दशैं उत्सवलाई थप रौनकता प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



