जनकपुरधाम, ०३ कार्तिक । सडक दुर्घटना न्यूनीकरण तथा सवारी चालकलाई ट्राफिक नियमप्रति जिम्मेवार बनाउन धनुषामा प्रहरीले संयुक्त चेकिङ तथा सचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

अभियानका क्रममा हेल्मेट नलगाई मोटरसाइकल चलाउने चालकलाई सम्झाइबुझाइ गर्नुका साथै केही चालकलाई हेल्मेट उपहारसमेत प्रदान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का र जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइलका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालको संयुक्त नेतृत्वमा खटिएको टोलीले सवारीसाधन जाँच गर्दै चालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेको हो ।

चेकिङका क्रममा हेल्मेट नलगाई मोटरसाइकल चलाइरहेका चालकलाई हेल्मेटको महत्त्व र सडक सुरक्षाबारे जानकारी दिइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका बेला हेल्मेटले टाउकोमा लाग्न सक्ने गम्भीर चोटको जोखिम कम गर्ने भएकाले मोटरसाइकल चलाउँदा अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न चालकलाई सचेत गराइएको थियो ।

प्रहरीले नियम उल्लंघन गर्ने चालकलाई कारबाहीमा मात्र सीमित नराखी सचेतना र प्रोत्साहनलाई समेत प्राथमिकता दिएको छ । सोही क्रममा हेल्मेट नलगाएका केही चालकलाई हेल्मेट उपहार दिएर सुरक्षित यात्रा गर्न प्रेरित गरिएको हो ।

अभियानमार्फत तीव्र गतिमा सवारी नचलाउन, ट्राफिक संकेतको पालना गर्न तथा सडक सुरक्षासम्बन्धी नियमलाई व्यवहारमा उतार्न प्रहरीले आग्रह गरेको छ ।

चालकको लापरबाही र ट्राफिक नियमको उल्लंघनले दुर्घटनाको जोखिम बढाउन सक्ने भएकाले जिम्मेवार व्यवहार आवश्यक रहेको प्रहरीको जोड छ ।