जनकपुरधाम, ०१ कार्तिक । जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बडादशैँको महाष्टमीका अवसरमा बोकाबली प्रदान सुरू भएको छ ।

आइतबार राति ८ बजेर ३१ मिनेटदेखि बोकाबली सुरु भएको हो ।

बोकाबलीअघि राजदेवी ममन्दिरमा निशा पूजा गरिएको थियो । राम मन्दिरका महन्त राम गिरीले निशा पूजा गरेका थिए । बोकाबलीअघि निशा पूजा गर्ने परम्परा रहेको छ ।

बलि प्रदानका लागि महावीर युवा कमिटीले मन्दिर परिसरमा चारवटा ठेहा अर्थात् बोकाबलि दिने स्थानको व्यवस्था गरेको छ ।

महावीर युवा कमिटीका अनुसार गत वर्ष रसिद काटेर १४ हजार ६ सय ५२, कमिटीका तर्फबाट नौ, निःशुल्क २५० तथा विभिन्न पत्रका आधारमा ९३ वटा बोका बलि प्रदान गरिएको थियो । यसरी कुल १५ हजार चार वटा बोकाबलि प्रदान भएको थियो ।

बलि प्रदानका लागि प्रतिबोका ३०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । आम्दानीको १० प्रतिशत रकम मन्दिरको कोषमा जम्मा गर्ने व्यवस्था रहेको छ ।

राजदेवी मन्दिरमा बोकाबली प्रदानको संख्या वर्षअनुसार घटबढ हुँदै आएको छ ।

उपलब्ध तथ्यांकअनुसार २०६५ सालमा ११ हजार १३४ वटा बोका बलि प्रदान गरिएको थियो । त्यसपछि २०६६ सालमा ११ हजार ७९०, २०६७ सालमा १३ हजार ५५२, २०६८ सालमा १२ हजार ५६१ तथा २०६९ सालमा १४ हजार ७५४ वटा बोकाबली प्रदान गरिएको थियो ।

त्यसैगरी, २०७० सालमा १४ हजार ७२१, २०७१ सालमा १५ हजार ४६१, २०७२ सालमा १३ हजार ८०१, २०७३ सालमा १४ हजार ६१७ र २०७५ सालमा १४ हजार ९९७ वटा बोका बलि प्रदान गरिएको तथ्यांक छ ।

२०७६ सालमा १४ हजार ६३३, २०७७ सालमा ११ हजार ३५६, २०७८ सालमा १४ हजार ९४१ र २०८० सालमा १५ हजार २५१, २०८१ सालमा १५ हजार ४ र २०८२ सालमा १४ हजार ९०३ वटा बोकाबली प्रदान गरिएको थियो ।

महाष्टमीका अवसरमा राजदेवी मन्दिरमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत श्रद्धालुहरू आउने गरेका छन् ।

भाकल पूरा भएपछि तथा धार्मिक आस्थाका आधारमा श्रद्धालुहरूले मन्दिरमा बोकाबली प्रदान गर्ने परम्परा रहेको छ ।

यस परम्परालाई व्यवस्थित बनाउन स्थानीय युवा कमिटीहरूले स्वयंसेवक परिचालन, पूजा व्यवस्थापन तथा श्रद्धालुहरूको आवागमन व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।